Sunday, May 24, 2015
कालीगण्डकी फुटेर बाढीको खतरा छैन: गृहमन्त्री
पोखरा, जेष्ठ १० - उपप्रधानमन्त्री एवं गृहमन्त्री वामदेव गौतमले कालीगण्डकीमा पहिरोले बनेको बाँध फुटेर एकैसाथ बाढी आउने खतरा नरहेको बताएका छन् । म्याग्दीको बेनी–जोमसोम सडकको राम्चेस्थित महभीरमा गएको पहिरोले थुनिएको कालीगण्डकीको अवलोकनपछि गौतमले ठुलो चट्टानहरु नदीमा परेकोले एकैपटक बगाएर बाढी जान नसक्ने बताएका हुन् ।
प्रहरी र सशस्त्र प्रहरी प्रमुखसहित हवाइ अवलोकनपछि पोखरा विमानस्थलमा झरेका गौतमले भने, ‘पहाडका ठुला चट्टान खसेकोले एकैपटक बाँध फुट्ने संभावना देखिन्न । बाँध भरिएपछि पानी निस्कन थाल्छ । तल्लो तटीय क्षेत्रमा बाढी भने जान सक्छ । त्यस क्षेत्रका बासिन्दा सुरक्षितस्थलतर्फ गइसकेका छन्,’ उनले भने ।
पहिरोले नदिमा करिब ६० मिटर अग्लो बाँध बनाएको जानकारी दिँदै उनले भने, ‘पहिरो नरोकिएकोले त्यसलाई फुटाएर पानीको निकास बनाउन कठिन भइरहेको छ ।’ गत वर्ष भोटेकोशी थुनिँदा जसरी होशिसायरीसाथ तल्लो भेगमा क्षति हुन नदिए झैं अहिले पनि सामना गरिने गौतमले बताए । थुनिएको स्थलमा सेनाले पोष्ट खडा गरिसकेको र तल्लो क्षेत्रमा प्रहरीले बस्तीका बासिन्दालाई नदीबाट टाढा पठाईरहेको उनले बताए ।
अहिलेसम्म पहिरोले २६ घर पुरिएको उनले बताए । यसअघि भूकम्पले ती घर पहिरोको खतरामा परेकोले त्यहाँका बासिन्दा हटाईएकोले मानवीय क्षति नभएको गौतमको भनाई छ ।
गौतम पहिरोस्थलको हवाई अवलोकनपछि ९ किलोमिटर टाढाको सदरमुकाम बेनीमा सुरक्षा प्रमुखलाई निर्देशन दिएर फर्केका थिए ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment