Saturday, May 16, 2015

बाढी प्रभावित क्षेत्रमा निःशुल्क बीउ

३ जेठ, भीमदत्तनगर । कञ्चनपुरका बाढीपीडितलाई निःशुल्क धानको बीउ वितरण गरिने भएको छ । गत वर्षको बाढीले प्रभावित कञ्चनपुरको दोधारा–चाँदनी, भीमदत्तनगरपालिका, झलारी–पिलाडी, देखतभूली, शङ्करपुर, पुनर्वासलगायतका स्थानमा रहेका १६ वटा समूहलाई निःशुल्क धानको बीउ वितरण गरिने भएको हो । जिल्ला कृषि विकास कार्यालय कञ्चनपुरका अनुसार यस वर्ष बाढीपीडितलाई निःशुल्क वितरणका लागि १७ दशमलव २५ टन मोटो धानको बीउ छुट्याइएको छ । जिल्ला दैवी प्रकोप उद्धार समिति कञ्चनपुरले बाढीपीडित भनेर पुष्टी गरेका व्यक्तिलाई निःशुल्क धानको बीउ वितरण गरिन लागेको कञ्चनपुरका वरिष्ठ कृषि विकास अधिकृत टीकाराम थापाले जानकारी दिए । उनका अनुसार यस वर्ष बाढीपीडितलाई धानको बीउसँगै साना सिँचाइ र फलफूलका बोटसमेत निःशुल्क प्रदान गरिने भएको छ । कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार कञ्चनपुरको देखतभूलीका विभिन्न स्थानका कृषक बाढीबाट बढी प्रभावित रहेको पाइएका छन् । बाढीपीडित भनी प्रहरीले बनाएको निवेदन, सम्बन्धित नगरपालिका वा गाविसको सिफारिस र नेपाली नागरिकताको प्रमाणपत्रका आधारमा जिल्ला दैवी प्रकोप उद्धार समितिले बाढीपीडितको समूह विभाजन गरेको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार जिल्लामा बाढीपीडितका ८० वटा समूह रहेका छन् । रासस

No comments:

Post a Comment