Sunday, November 1, 2015
बल प्रयोग गरी नाका खोलेपछि वीरगन्जमा ठाउँठाउँमा प्रदर्शन
कार्तिक १६, २०७२- प्रहरीले बिहान झिस्मिसेमै धर्नास्थलमा सुतिरहेका प्रदर्शनकारीहरुलाई बल प्रयोग गरि हटाएर रक्सौल नाका सुचारु गरेको विरोधमा वीरगन्जमा अहिले जताततै प्रदर्शन सुरु भएको छ । आन्दोलनकारीहरुले भन्सार तर्फ जाने सबै चोकहरुमा टायर बालेर प्रदर्शन सुरु गरेका छन् । प्रहरीले पुन: नाकामा प्रदर्शनकारी जम्मा नहुन भनेर वीरगन्जको रजत जयन्ती चोकबाट नै मानिसहरुलाई नाका तर्फ आउन दिएको छैन । भारत तर्फ जाने यात्रु भएको खुलेपछि परिचयपत्र हेरेर मात्रै प्रहरीले सर्वसाधारणलाई नाका तर्फ जान दिएको छ । संघीय समाजवादी फोरम नेपालका नेता राजकुमार यादवका अनुसार प्रहरीले बिहान प्रदर्शनकारीहरु सुतिरहेको बेला थाहै नदिई एक्कासी आएर बल प्रयोग गरेर हटाएको थियो । ‘प्रहरीले आन्दोलनलाई छलपूर्ण रुपमा दबाउन खोजेको छ । हामी यसको सशक्त विरोध गर्छौं,’ उनले भने । मधेसी मोर्चाका कार्यकर्ताहरुले विगत ४० दिनदेखि वीरगन्ज–रक्सौल नाकाको दशगजा क्षेत्रमै पाल टाँगेर २४ घन्टा धर्ना दिँदै आएका थिए । प्रहरीले साेमबार बिहान साढे ४ बजे हस्तक्षेप गरी प्रदर्शनकारीलाई हटाएकाे थियो ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment