Sunday, November 1, 2015

भारतीय प्रहरीको असहयोगले वीरगन्ज नाका फेरि ठप्प

माथिको आदेश’ भन्दै रुपैडिया नाका पनि ठप्प , वीरगन्जकाे घण्टाघर र नगमा क्षेत्र तनावग्रस्त

कार्तिक १६, २०७२- आन्दोलनकारीमाथि बल प्रयोग गर्दै सुरक्षाकर्मीले खुलाएको वीरगञ्ज–रक्सौल नाकामा फेरि आन्दोलनकारी जम्मा भएका छन् । उनीहरु दशगजा क्षेत्रमा जम्मा भएर धर्नामा बसेका छन् । नेपाल प्रहरीले आज साढे ४ बजे बल प्रयोग गरी नाका खुलाएको थियो । नाका खुलाएलगत्तै वीरगञ्जमा रोकिएका भारतीय गाडीहरु रक्सौल प्रवेश गरेका थिए । भारतीय सवारी रक्सौल पुगुन्जेल भारतीय सुरक्षाकर्मीले पारि पुगेका आन्दोलनकारीलाई दशगजा क्षेत्रमा आउन दिएको थिएन ।
तर, करिब २ सय भारतीय गाडी रक्सौल प्रवेश गरेपछि भने आन्दोलनकारीलाई भारतीय सुरक्षाकर्मीले दशगजा क्षेत्रमा प्रवेश दिएका थिए । प्रहरीले आज विहान बल प्रयोग गरी ४० दिनदेखि ठप्प वीरगञ्ज नाका खुलाएको थियो । नाका खुलाउने क्रममा ५ जना पक्राउ परेका थिए । 
नगमा र घण्टाघर तनावग्रस्त 
आज बिहान प्रहरीले बल प्रयोग गर्दै नाका खुलाएको विरोधमा आन्दोलनकारीले गरेको प्रदर्शनले वीरगञ्जको घण्टाघर र नगमा क्षेत्र तनावग्रस्त बनेको छ । आन्दोलनकारीलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्याँस प्रहार गरेको थियो ।
 ‘माथिको आदेश’ भन्दै रुपैडिया नाका पनि ठप्प 
नेपालगन्ज-भारतीय सीमा सुरक्षा बलले नेपालगञ्जको रुपैडिया नाका ठप्प पारेका छन् । उनीहरुले ‘माथिको आदेश’ भन्दै पैदल बाहेक अन्य आवतजावत बन्द गरेका छन् । एसएसबीले टाँगा, रिक्सा, साइकल र मोटरसाइकललाई पनि आवतजावत गर्न दिएका छैनन् । यो नाकामा आन्दोलनकारीले धर्ना र प्रदर्शन गरेका छैनन् । हिजोसम्म सामान्य अवस्थामा सुचारु भएको यो नाकामा आज बिहानदेखि ठप्प भएको हो ।

No comments:

Post a Comment