Monday, November 2, 2015
भारतीय पक्षद्वारा भैरहवा र नेपालगञ्जको नाका बन्द
१६ कात्तिक, भैरहवा । भारतीय पक्षले एकपक्षीय रुपमा रुपन्देहीको भैरहवा र नेपालगञ्जको रुपैडिहा नाका बन्द गरेको छ । मधेसी मोर्चाको प्रदर्शन नभए पनि सुरक्षाको कारण देखाउँदै भारतीय पक्षले नाका पूर्णरुपमा बन्द गरेको हो ।
रुपैडिहा नजिकै रहेको एसएसबीको सातौं बटालियनको बी कम्पनि कमाण्डर पीएन सिंहले माथिको आदेशअनुसार सोमबार विहान १०ः५५ देखि नाका बन्द गरिएको बताए । उनले सोमबार र मंगलबार दुई दिनसम्म सीमानाका बन्द हुने जानकारी दिए ।
एसएसबीले पैदल यात्रुलाई मात्रै भारत प्रवेश गर्न दिएको छ । तर अरु कुनै पनि गाडीहरुलाई प्रवेश गर्न दिएको छैन । रुपैडिहामा रोकिएका नेपाली नम्बर प्लेटका गाडीहरुलाई भने एसएसबीले नेपाल आउन दिएको छ ।
सोमबार विहानसम्म डिजल बोकेका आठवटा ट्यांकर, हवाई इन्धन बोकेको एउटा ट्यांकर र अन्य मालबाहक २२ वटा गाडी भारतबाट नेपाल प्रवेश गरेका छन् ।
सोमबार विहान वीगरञ्जको मितेरी पुलमा धर्नामा बसेकाहरुलाई प्रहरीले बल प्रयोग गरेर हटाएको थियो । लगतै प्रहरीले नेपालतर्फ रोकिएका भारतीय गाडीहरुलाई भारततर्फ पठाएपछि वीरगञ्ज तनावग्रस्त छ । प्रहरी र आन्दोलनकारीबीच भएको झडपका क्रममा गोली लागेर एक जनाको मृत्यु भएको छ । वीरगञ्जमा स्थानीय प्रशासनले कर्फ्यूसमेत लगाएको छ ।
वीरगञ्ज तनावग्रस्त हुनासाथ भारतीय पक्षले पूर्व जानकारी नदिइ एक पक्षीय रुपमा भैरहवा र नेपालगञ्जको नाका बन्द गरेको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment