Monday, November 2, 2015

वीरगन्जमा झडप, प्रर्दशनकारीको मृत्यु

मितेरी पुल आन्दोलनकारीको कब्जामा, वीरगन्ज नाका फेरि ठप्प 
वीरगन्ज : प्रहरीले सोमबार बिहान हस्तक्षेप गरेर खुलाएको वीरगन्ज रक्सौल नाका मधेशी मोर्चाका नेता कार्यकर्ताहरुले बिहान ११ बजे देखि फेरि ठप्प पारेका छन् । 
 
मधेशी मोर्चाका नेता कार्यकर्ताहरु बिहान ११ बजे देखि फेरि मितेरी पुलमा धर्ना दिएर ठप्प पारेका हुन् । मोर्चाका नेता कार्यकर्ताहरु धर्नामा फेरि बसेपछि अहिले मितेरी पुलको अवस्था तनावग्रस्त बनेको छ ।

मितेरी पुलमा अहिले पनि प्रहरी र मोर्चाका कार्यकर्ताहरु बिच झडप भइरहेको छ ।एकजनाको प्रर्दशनकारीको मृत्यु भएको छ। शवलाई सुरक्षाकर्मीले घेरेर राखिएको छ। सनाखत भइसकेको छैन।

झडपका क्रममा प्रदर्शनकारीहरुले ढुंगामुढा प्रहार गरेपछि प्रहरीले पनि केहि राउण्ड अश्रु ग्याँस प्रहार गर्नुका साथै हवाइ फायर पनि गरेको छ । प्रहरीले दुइ राउण्ड अश्रु ग्याँस र दुइ राउण्ड हवाइ फायर गरेको  छ । मितेरी पुलमा मधेश मोर्चाको धर्नाका कारण वीरगन्ज रक्सौल नाकामा सवारी सोमबार बिहान ११ बजे देखि आवागमन ठप्प भएको छ ।
 
यसअघि सोमबार बिहान पौने पाँच बजे तिर मितेरी पुलमा पुगेको प्रहरीले  लाठी चार्ज गरेर आन्दोलनकारीहरुलाइ धपाएपछि वीरगन्जबाट दुइ सय भन्दा बढि भारतीय खाली गाडि रक्सौल प्रवेश गरेका थिए ।वीरगन्जमा ४० दिन देखि अलपत्र परेका दुइ सय १९ वटा भारतीय खाली ट्रकहरु सोमबार  बिहान भारतीय प्रहरीको समन्वयमा रक्सौल पठाइएको पर्साका प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले बताए ।

 
नेपालमा अलपत्र परेका भारतीय गाडीहरु रक्सौल छिर्ने बित्तिक्कै आन्दोलनकारीहरुले मितेरी पुलमा फेरि धर्ना दिएर नाका ठप्प पारेका हुन् । यसअघि बिहान वीरगन्जबाट भारतीय गाडीहरु नेपाल प्रवेश गर्ने क्रम चलिरहदा भारतीय प्रहरी र रक्सौल कस्टमका अधिकारीहरुले रक्सौलमा रोकिएका नेपालका मालवाहक गाडीहरु पनि नेपाल पठाउने बताएका थिए । तर वीरगन्जमा रोकिएका  भारतीय गाडीहरु सबै रक्सौल छिरेपछि भने भारतीय प्रहरी र रक्सौल कस्टमका अधिकारीहरु मितेरी पुलबाट भारत तर्फ फर्किए ।
 
यसअघि सोमबार  बिहान पौने पाँच बजे तिर प्रदर्शनकारीहरु सुतेकै बेला करिब चार सयको संख्यामा आएका नेपाल प्रहरी र सशस्त्र प्रहरीले एक्कासी लाठी चार्ज गरेर धपाउनुका साथै धर्नास्थलमा टाँगिएको पाँच वटा टेन्ट र बाँस जलाइदिएको संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले बताए । प्रहरीले प्रदर्शनकारीको एउटा मोटरसाइकल र २० थान मोबाइल फोन सेट पनि नियन्त्रणमा लिएर गएको नेपाल सदभावना पार्टीका केन्द्रिय सदस्य शीव पटेलले बताए ।
 
प्रहरीको लाठीचार्जबाट निखिल वर्णवाल ,शुभम चौरसीया, अमोद पटेल ,जगदीश पटेल , जटाशंकर गिरी, धर्मेन्द्र पटेल सहित १० जना प्रदर्शनकारी घाइते भएको संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य राज कुमार यादवले बताए ।
 
यस्तै प्रहरीले बिहान धर्ना स्थलमा दूइ जना भारतीय र तीन नेपाली गरि पाँच जना प्रदर्शनकारीलाइ नियन्त्रणमा लिएको छ । उनिहरुलाइ जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको पर्साका प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले बताए । 

No comments:

Post a Comment