Thursday, October 1, 2015

[अपडेट] पश्चिम नाकाबाट १६ ट्यांकर इन्धन भित्रिए

आश्विन १४, २०७२- बिहिबार केही समय अघि नेपालगञ्ज नाकाबाट १० ट्यांकर डिजेल र ८ ट्रक अालु र किंकर बाेकेका ट्रक नेपाल भित्रिएका छन् । यस्तै भैरहवाबाट ४ वटा पेट्रोल र २ बुलेट ग्याँस अाएकाे छ । धनगढीबाट एउटा ग्याँसकाे बुलेट नेपाल प्रवेश गरेकाे छ । काँकडभिट्टा नाकाबाट पनि केही ट्रक नेपाल प्रवेश गरेका छन् । तर पूर्वी नाकाबाट कुनै पेट्रोलयिम पदार्थ बोकेका गाडी भने छिरेकाे छैन । भैरहवा नाकाबाट १५ पिकअपमा गाडीका सामान, २ वटा मालबाहक ९ वटा खाली ट्रक र यात्रुसहितका १६ वटा गाडी नेपाल प्रवेश गरेकाे छ । हिजाे बुधबार पनि पश्चिम नाका भैरहवाबाट लगभग ८० ट्रक सामान र केही ट्रक पेट्रोलयिम पदार्थ बोकेका गाडी र नेपालगञ्जबाट पनि केही ग्याँसको बुलेट नेपाल भित्रिएका थिए र केही समय पछि पुन: राेकिएका थिए । हिजै पूर्वी नाका काँकडभिट्टाबाट केही तरकारी र माछा बोकेका ट्रक भित्रिन खोजे पनि भन्सारले कुहिएको सामाग्री जाँचपास नगर्ने भनेर भन्सारमै रोकर राखिदिएको छ । अन्य प्रमुख नाका वीरगन्ज र जोगवनी भने बुधबार पूर्णरुपमा ठप्प रहेका छन् । मधेसी मोर्चाका कार्यकर्ताले सीमा नाकामा नै बसेर धर्ना दिन थालेपछि भारतबाट कुनै सामाग्री बोकेका मालवाहक गाडीहरु नेपाल प्रवेश गर्न सकेका छैनन् । सीमाको धर्नालाई देखाएर भारतले कुनै पनि मालबाहकलाई छोडेको छैन । भन्सार विभागका महानिर्देशक सिसिर ढुंगानाका अनुसार भारतबाट नेपाल सामान भित्रिने २० वटा नाका छन् । '२० वटा मध्ये ८ प्रमुख नाकाले ९८ प्रतिशत अायात अाेगट्छन् । त्यसमा पनि वीरगन्जले ५० प्रतिशत हिस्सा अाेगट्छ,' उनले भने । भारतले हिजो केही नाकाबाट सामान पठाउने नाममा कुहिएको वा कुहिन लागेका तरकारी र फलफुल बोकेका ट्रकहरुलाई छोडेको थियो । अाज पठाएकाे सामानमा पनि धेरै जस्ताे कुहिने वस्तु प्रमुख छन् । पेट्रोलियम पदार्थ बोकेका गाडीहरुलाई छोड्न आग्रह गरे पनि ४, ५ ट्रक पेट्रोलियम पदार्थ मात्र भारतले छोडेको छ । हिजो जस्तै अाज पनि सुनाैलीको नाका केही समयकाे लागि मात्र खुकुलाे गरिएकाे हुनसक्छ । नाकाबन्दी भएर पेट्रोलियम पदार्थ आयात हुन छोडेपछि सरकारले आजबाट कुनै पनि नीजि सवारी साधानलाई इन्धन नदिने घोषणा गरेको छ । यस्तै बजारमा खाना पकाउने ग्याँसको पनि अभाव भएको छ । हालसम्म खाद्यपदार्थको अभाव नदेखिए पनि नाकाबन्दी अझै लम्बिए चाडबाडको मुखमा नेपालीले खानेकुराकै अभाव खेप्नुपर्ने हुनसक्छ ।

No comments:

Post a Comment