Friday, October 30, 2015

चीनले किन हटायो एक सन्तान नीति ?

जनवादी गणतन्त्र चीनले आफ्नो दशकौँ लामो एक सन्तान नीति अन्त्य गर्ने निर्णय गरेको छ । सरकारी संचार माध्यम सिन्ह्वाले चिनिया कम्युनिष्ट पार्टीको विज्ञप्ती उधृत गर्दै यो सरकारी निर्णयको जानकारी दिएको छ ।
अबदेखि चिनिया दम्पतीहरुले दुइवटा सन्तान जन्माउन पाउनेछन् ।
देशको तिव्र जनसंख्या वृद्धि नियन्त्रण गर्न चीनले सन् १९७९ मा यो विवादास्पद नीति लागु गरेको थियो । यो नीतिले चीनमा ४० करोड जनसंख्या बढ्नबाट रोकेको बताइन्छ । तर एक सन्तान नीतिका कारण जन्मदरमा आएको कमीसँगै चीनमा वृद्धावस्थाको जनसंख्याको अनुपात बढ्दै गएपछि सरकारमाथि यो नीतिमा परिवर्तनका लागि दबाब पर्दै आएको थियो ।
स्मरण रहोस् चीनमा अहिलेसम्म एक सन्तान नीति लागु गराउन सरकारले कडा नियम अख्तियार गर्दै आएको छ । यो नीति उल्लंघन गर्ने दम्पतीलाई जरिवाना देखि जागिर खोसिदिने तथा बलपूर्वक गर्भपतन गराइदिने लगायतका सजाय दिने गरिएको छ ।
यद्यपि कतिपय प्रान्तमा भने यो नीति केही हदसम्म खुकुलो पारिएको थियो । जनसंख्याविद तथा समाजशास्त्रीहरुले एक सन्तान नीतिका कारण सामाजिक लागतमा वृद्धि हुँदै गएको र काम गर्ने उमेरका मानिसको संख्या घट्दै जाँदा कामदारको संख्या घटिरहेको विषयमा चासो व्यक्त गर्दै आएका थिए ।
जनसंख्याको सन्तुलित विकाशमा सुधार गर्न तथा बुढो बन्दै गएको जनसंख्यालाई सम्बोधन गर्नका लागि दम्पतीहरुलाई दुइ सन्तान जन्माउन अनुममति दिने निर्णय गरिएको चिनिया कम्युनिष्ट पार्टीको केन्दि्रय कमिटीको विज्ञप्तीलाई उधृत गर्दै सिन्ह्वाले जनाएको छ ।
चीनमा हाल कुल जनसंख्याको ३० प्रतिशत ५० वर्ष भन्दा माथिका छन् । चीनको कुल जनसंख्या १ अर्ब ३६ करोड रहेको छ ।
चिनिया कम्युनिष्ट पार्टीले दुइ वर्षअघि नै एक सन्तान नीतिलाई खुकुलो पार्दै लगिने बताएको थियो । जस अन्तरगत श्रीमान श्रीमतीमध्ये कम्तिमा कुनै एकजना एक्लो सन्तान भएको खण्डमा ती दम्पतीलाई दुइवटा सन्तान जन्माउन दिने घोषणा गरिएको थियो ।
सन् १९७९ देखि लागु भएको एक सन्तान नीति अन्तरगत सन् २००७ सम्ममा एक तिहाइ चिनियाले जरिवाना नतिरिकन दोश्रो सन्तान पाउन सकेनन् । ग्रामीण क्षेत्रमा भने पहिलो सन्तान छोरी भएको खण्डमा दोश्रो सन्तान जन्माउन दिइएको थियो । त्यस्तै जातिय अल्पसंख्यक दम्पतीहरुमा पनि उनीहरु आफै एकमात्र सन्तान भएको खण्डमा पनि दुइवटा सन्तान जन्माउन दिने नीति सन् २०१३ मा लिइएको थियो ।
चीनको एक सन्तान नीतिका आलोचकहरुले भने यो नीतिले महिलाहरुमा बाध्यकारी गर्भपतन, बालिका शिशु हत्या तथा छोरीहरु कम जन्मिने जस्ता समस्या देखिएका थिए । जसका कारण चीनमा लैंगिक असन्तुलन समेत पैदा हुन थालेको थियो ।
तर सरकारले एक सन्तान नीति हटाएपछि चीनमा धेरै परिवारले एउटै मात्र सन्तान जन्माउन चाहनेछन् । किनकी चीनमा एक सन्तान एउटा नियम तथा पारिवारिक र सामाजिक मूल्य जस्तै बनेको छ । त्यसैले दुइ सन्तान नीतिले पनि त्यहाँको जन्मदरमा बढावा गर्ने सम्भावना निकै कम रहेको बताइन्छ ।
साथै सरकारको यो नीति परिवर्तनले महिलाको प्रजनन अधिकारमाथि पावन्दी कायमै राखेको देखिन्छ । दम्पतीहरुलाई केवल दुइवटा मात्र सन्तान जन्माउन छुट दिइएको छ र दुइभन्दा बढि सन्तान जन्माउन भने पाइनेछैन ।
सन्तानमा कोटा तथा अनुगमन प्रणाली कायम राखेसम्म महिलाले प्रजनन अधिकारको अनुभुति गर्न नपाउने मानव अधिकारवादीहरुले बताएका छन् ।

No comments:

Post a Comment