Thursday, October 29, 2015

सुटुक्क काठमाडौं आएर बीजेपी नेता जोलीले ओली र विद्यालाई भेटे

१२ कात्तिक, काठमाडौं । भारतीय जनता पार्टीका नेता विजय जोलीले राष्ट्रपति निर्वाचनको अघिल्लो दिन सुटुक्क काठमाडौं आएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । भारतले नेपालमा अघोषित नाकाबन्दी गरिरहेका बेला भारतको सत्तारुढ पार्टी बीजेपीका नेता जोली यसैसाता काठमाडौं आएका थिए । उनले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग भेट गरेका छन् । ओलीले जोलीलाई आफ्नो सपथ ग्रहणमै बोलाएको तर, चीनमा रहेकाले आउन नपाएको जोलीले बताएका छन् । जोलीले बालुवाटारमा नै विद्या भण्डारीसँग भेटेका थिए । भण्डारीसँग ३५ मिनेट वार्ता गरेको भन्दै जोलीले अहिले राष्ट्रपतिमा निर्वाचित भएकामा बधाइसमेत दिएका छन् । प्रधानमन्त्री ओली र भण्डारीले नेपालमा बढ्दो इन्धन संकटबारे आफूसमक्ष चिन्ता व्यक्त गरेको जोलीले विज्ञप्तिमार्फत जनाएका छन् । आफूले भने भारतसँगै नेपालको असल छिमेकीका रुपमा रहेको भन्दै भारतले नाकाबन्दी नगरेको दाबी गरेका छन् । तर, मधेसी मागमा नेपालको संविधान संशोधन तथा इन्धन तथा ग्यास संकट आजको आवश्यकता भएको जोलीले बताएका छन् । बीजेपीका नेता जोलीले काठमाडौं बसाइका क्रममा कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइराला, एमाले महासचिव ईश्वर पोखरेल लगायतसँग पनि भेट गरेका छन् ।

No comments:

Post a Comment