Friday, October 30, 2015

ड्राइपोर्टमा सात लाख बोरा मल अलपत्र

वीरगन्ज: मधेस आन्दोलनका कारण ढुवानी हुन नसक्दा वीरगन्जको सिर्सिया सुक्खा बन्दरगाह (ड्राइपोर्टमा) झन्डै सात लाख बोरा रासायनिक मल एक महिनादेखि अलपत्र छ।
 
चीन र भारतबाट सरकारले आयात गरेको ३० हजार मेट्रिक टन मल ड्राइपोर्टमा अलपत्र परेको कृषि सामग्री कम्पनी क्षेत्रीय कार्यालय वीरगन्जका प्रमुख राजेन्द्रबहादुर कार्कीले जानकारी दिए। उनका अनुसार ड्राइपोर्टमा थन्किएको मध्ये चार लाख नौ हजार ६ सय ४० बोरा युरिया र दुई लाख ५० हजार बोरा डीएपी मल छ। करिब सात अर्ब मूल्यबराबरको रासायनिक मल एक महिनादेखि ड्राइपोर्टमा थन्किएको कार्कीले बताए। मधेसी दलले बन्द हडताल कडा पारेपछि र वीरगन्ज रक्सौल नाकमा नाकाबन्दी गरेका कारण ढुवानीका साधन नचलेकाले ड्राइपोर्टबाट कम्पनीको गोदामसम्म पनि ल्याउन नसकेर मल ड्राइपोर्टमै थन्किएको कार्कीले जानकारी दिए। यस्तै पर्सा र बाराका किसानका लागि मात्रै भारतबाट स्थलमार्ग भएर आयात गरिएको थप तीन हजार बोरा मल नाकाबन्दीकै कारण सीमापारि रक्सौलमै रोकिएको कार्कीले जानकारी दिए।'रेल मार्ग हुँदै आयात गरिएको थप चार लाख बोरा युरिया र डीएपी मल पनि भारतकै बाटोमा रोकिएको छ', उनले भने, 'सायद एक दुई दिनमा त्यो पनि ड्राइपोर्टमा आइपुग्छ होला।'
चीन र भारतबाट सरकारले आयात गरेको ३० हजार मेट्रिक टन मल ड्राइपोर्टमा अलपत्र परेको छ। त्यसमा चार लाख नौ हजार ६ सय ४० बोरा युरिया र दुई लाख ५० हजार बोरा डीएपी मल छ।
वीरगन्जको कृषि सामग्री कम्पनी क्षेत्रीय कार्यालयले मध्यमाञ्चलका पर्सा, बारा, रौतहट, सर्लाही, मकवानपुर, चितवन, रौतहट, पोखरा, पर्वत, नवलपरासी, काठमाडौं, काभ्रे, नुवाकोट, धादिङ, सिन्धुली, धनुषा, महोत्तरीलगायतका २२ जिल्लामा मल आपूर्ति गर्छ। सरकारले किसानलाई अनुदानमा वितरण गर्न आयात गर्ने ८० प्रतिशत रासायनिक मल वीरगन्ज नाका भएरै आउने गरेको छ।
 
ड्राइपोर्टमा रहेका दुई ठूला गोदाम खचाखच भरिएकाले झन्डै दुई लाख बोरा मल ड्राइपोर्ट परिसरकै खुला स्थानमा राखिएको छ। यो मल बिग्रिने खतरा रहेको प्रमुख कार्कीले बताए। बिहिबार बिहानको वर्षाका कारण बाहिर राखिएका मलमा सामान्य क्षति पुगेको उनले बताए।
 
बाहिर राखिएको मल छोप्न मात्रै करिब १० लाख रुपैयाँको त्रिपाल किन्नुपरेको कार्कीले बताए। 'केही त्रिपालले छोपेर राखेका छौं', उनले भने, ‘ठूलो पानी पर्‍यो भने त बाहिर राखिएको सबै मल बर्बाद नै हुन्छ।' धानको सिजनका लागि आयात गरिए पनि आन्दोलनका कारण किसानलाई मल वितरण गर्न नसकिएको कार्कीले बताए।
 
'अब गहुँको सिजन पनि सुरु हुँदैछ', उनले भने, 'बन्द हडताल खुल्ने अझै ठेगान छैन, किसानले मल नपाउने हो भने गहुँ बालीमा पनि ठूलो असर पर्ने सम्भावना छ।' मल ओसार्न ढुवानी व्यवसायीलाई पटकपटक आग्रह गरे पनि असुरक्षा र डिजेलको अभाव देखाउँदै उनीहरूले गाडी नपठाएको कार्कीले बताए।

No comments:

Post a Comment