Friday, October 30, 2015
नाकाबन्दी गरेकै नाकाबाट भारतीय सुरक्षाकर्मी हतियारसहित नेपाल प्रवेश
वीरगञ्ज– वीरगन्ज रक्सौल नाकाको दगशजा क्षेत्रको मितेरी पुलमा असोज ७ गते देखि मधेशी मोर्चाले दिन रात २४ सै घण्टा धर्ना दिएर नाका ठप्प पारेका छन् ।
मधेशी दलको नाकाबन्दी शुरु भए देखि नै धर्ना स्थलमा सवारी सधानको आवागमन ठप्प भएपनि हिजो बिहान र बेलुकी गरि हतियारसहितका भारतीय प्रहरीका चार वटा गाडी मितरी पुल पार गरेर नेपाल छिरेका छन् ।
धर्ना स्थल भएर रिक्सा , टाँगा , साइकल , एम्बुलेन्स र मोटरसाइकल बाहेक अन्य कुनै पनि सवारी साधनलाई मधेशी दलले वीरगंज रक्सौल वारपार गर्न दिएका छैनन् । तर, शुक्रबार बेलुका बर्दि र हतियार सहितका भारतीय प्रहरी सवार चार वटा भारतिय गाडी धर्नास्थल नै भएर वीरगंज छिरेका थिए ।
बी आर ३३ एम ७६१६ नम्बरको खैरो रङ्गको बोलेरो र बि आर ०९ आर ३९५३ नम्बरको सेतो रङ्गको स्कार्पियो गाडीमा सवार डिएसपी सहितका भारतीय प्रहरीहरु हिजो बेलुकी वीरगन्ज छिरेका थिए । मितेरी पुल हुदै शंकराचार्यद्वार गेटमा पुगेका भारतीय प्रहरीका दुवै गाडीलाई नेपाली प्रहरीले रोकेर सोधपुछ गरेर भारतीय प्रहरीले लगाएको बर्दि खोल्न त लगाए तर गाडी भित्र के छ छैन भनी चेकजाँच नै नगरी वीरगंज बजार तर्फ पठाएका थिए ।
भारतीय प्रहरीको गाडी भित्र चेकजाँच नगरिएका कारण उनीहरु हतियार सहित वीरगन्ज बजार तर्फ हिडेका थिए ।
प्रहरी चौकी इनर्वाका प्रहरी नायव निरिक्षक पुरुषोत्तम सुबेदीले भारतीय प्रहरीहरु सवार रहेको गाडी वीरगन्ज बजार घुम्न आएको बताउदै उनिहरु आदर्शनगरमा किनमेल गरेर गएराति नै फर्किएको बताए । उनले भारतीय प्रहरीले हतियार भने नबोकेको दाबी गरे ।
शंकराचार्यद्वार देखि मकालु चौक सम्म ५ ठाँउमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले ठाँउ ठाँउमा भारतिय गाडीलाई रोकेर सोधपुछ गरेपनि कसैले पनि चेकजाँच भने नगरेको एक प्रत्यक्षदर्शीले बताए ।
यसअघि हिजो बिहान पनि भारतीय प्रहरीका दुइ वटा गाडी धर्ना जारी रहेकै बेला नाका हुदै नेपाल प्रवेश गरेका थिए । डिएसपी र अन्य तीन भारतीय प्रहरी बर्दि र हतियार सहित नै नेपाल छिरेकाले उनिहरुलाइ चार घण्टा नियन्त्रणमा लिएर सोधपुछ पछि फर्काइदिएको प्रहरी नायव निरिक्षक सुबेदीले बताए ।
नियमअनुसार दुबै देशका प्रहरी एक अर्काको देशमा प्रवेश गर्दा बोकेको हतियार आफ्नै देशको सीमा प्रहरी चौकीमा बुझाएर जाने नियम रहेको छ। तर, सोको उलंघन गर्दै भारतीय सुरक्षाकर्मी नेपाल प्रवेश मात्रै गरेन नेपाली प्रहरीले पनि कडाई नगरेको हो ।
भारतीय पक्षले नियमकानुनको उलंघन गर्दै विभिन्न सीमानाका भएर नेपाल प्रवेश गर्ने गरेको भएपनि नेपाली पक्षले उचित कदम चाल्न सकेको छैन । केहि साताअघि मात्रै यसअघि पनि भारतीय प्रहरी हतियार सहित नेपाल प्रवेश गरेको खुलासा भएको थियो । त्यतिबेला उनीहरु मधेसी मोर्चाकै सहयोगमा नेपाल प्रवेश गरेको खुलासा भएको थियो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment