Saturday, October 31, 2015

भारतीय सुरक्षाकर्मी पटक–पटक नेपाल प्रवेश

कार्तिक १५, २०७२- दशगजा क्षेत्रमा रहेको मितेरी पुलमा मधेसवादी दलको जारी धर्नामा साइकल र मोटरसाइकलबाहेकका सवारी ओहोरदोहोरमा निषेध गरिएको छ।  भीडभाड कम भएका बेला एकाध रिक्सा निस्किन्छन्। तर पछिल्लो सातायता भारतीय उच्च प्रहरी अधिकारीको ३ वटा टोली गाडीमा सवार भएर धर्नास्थल हुँदै वीरगन्ज प्रवेश गरेका छन्। शुक्रबार साँझ करिब ६ बजे बीआर ३३ एम ७६१६ नम्बरको खैरो रंगको बोलेरो र बीआर ०९ आर ३९५३ नम्बरको सेतो स्कार्पियो गाडीमा सवार डीएसपीसहितका भारतीय प्रहरी धर्नास्थलकै बाटो प्रयोग गरी नेपाल प्रवेश गरेका थिए। धर्नास्थलबाट करिब ३ सय मिटरको दूरीमा रहेको नेपाल प्रहरीको इनर्वा सीमा चौकीका सुरक्षाकर्मीले चेकजाँचका क्रममा भारतीय प्रहरी गाडी रोकेका थिए।  पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले बर्दी र हतियारसहित नेपालभित्र जान नमिल्ने भन्दै सीमा चौकीका प्रहरीले रोकेको बताए। ‘बर्दी र हतियारसहित नेपाल प्रवेश गर्न नमिल्ने बताएपछि एउटा गाडी फर्कियो,’ कान्तिपुरसँग उनले भने, ‘अर्को गाडीमा सादा पोसाकमा बसेका व्यक्ति वीरगन्ज पसे।’ स्रोतका अनुसार सीमावर्ती विहार राज्यमा जारी विधानसभा निर्वाचनमा प्रचारप्रसार गर्न आएको भीआईपी टोलीको एस्कर्टिङमा डीएसपीको टोली पछिपछि आएको थियो। नेपाल प्रहरीले भारतीय प्रहरीलाई फिर्ता पठाएपछि भीआईपीको टोली वीरगन्जमा किनमेल र नास्ता गरेर राति करिब ९ बजेतिर रक्सौल फर्केको थियो। यसैगरी शुक्रबार बिहान पनि भारतीय प्रहरी गाडीमै सवार भएर नेपाल प्रवेश गर्ने क्रममा सीमा प्रहरी चौकी इनर्वाले रोकेको थियो। बर्दीसहित २ वटा गाडीमा चढेर आएका उनीहरूलाई झन्डै ४ घण्टा सोधपुछ गरी फिर्ता पठाइएको थियो। सात दिनअघि पनि जारी मधेस आन्दोलनको केन्द्रविन्दु बनेको वीरगन्ज नाका भएर भारतीय प्रहरीका एक एसपी ५ जनाको हतियारधारी टोली अन्तर्राष्ट्रिय नाकाबाट १५ किलोमिटर भित्रसम्म प्रवेश गरेका थिए। मधेसवादी दलले वीरगन्ज र रक्सौल नाकाबीचको मितेरी पुलमा सवारी साधन आवागमन ठप्प पारे पनि ती प्रहरी साइरन बत्ती भएको भारतीय जिपमा पुल पार गरेर नेपाल प्रवेश गरेका थिए। साँझ करिब ७ बजेको समयमा एमपी ओ३ए १९१५ नम्बरको गाडीमा प्रवेश गरेका भारतीय प्रहरी वीरगन्ज भन्सार हुँदै रजतजयन्ती चोक भएर बाइपास सडक समाएर अन्तर्राष्ट्रिय नाकाबाट करिब १५ किलोमिटरभित्र परवानीपुरसम्म पुगेका थिए। त्यहाँ चेकजाँचमा तैनाथ पर्सा प्रहरीले गाडीबाट एक थान एके ४७ र त्यसमा प्रयोग हुने ३० राउन्ड गोली बरामद गरेको थियो। प्रहरी स्रोतका अनुसार गाडीमा मध्य प्रदेश रिवा जिल्ला ‘स्पेसल आर्म फोर्स’ ९ औं बटालियनका एसपी नरबदाप्रसाद बरकडे बसेका थिए। हतियार र बर्दीसहित नेपाली भूमिमा प्रवेश निषेध रहेको ड्युटीमा खटिएका प्रहरीले बताएपछि भारतीय प्रहरीले अञ्जानवश प्रवेश गरेको जवाफ दिएका थिए। ‘काठमाडौंमा रहेको पशुपतिनाथको दर्शनका लागि हिँडेका थियौं,’ भारतीय प्रहरीलाई उद्धृत गर्दै एक प्रहरीले भने, ‘हामीले बर्दी र हतियार यहीं राखेर जान भनेपछि आफ्नै देश फर्किने बताए।’ वीरगन्ज रक्सौलबीचको मितेरी पुलमा विगत एक महिनाभन्दा बढी दिनदेखि जारी मधेसी मोर्चाको धर्नाका कारण हल्का सवारी साधन र साइकलबाहेकका सवारी पुल भएर चलेका छैनन्। भारत तथा तेस्रो मुलुकबाट आउने मालवाहक सवारी र इन्धन आपूर्ति ठप्प गर्ने उद्देश्यले आन्दोलनरत पक्ष मुलुकको प्रमुख नाकामा गत असोज ७ गतेदेखि बाँसमा समेना (पाल) टाँगेर धर्नामा बसेका छन्।  पारि रक्सौलका व्यापारी महेशकुमार अग्रवालको गोदाम परिसरमा सञ्चालित मेसमा खाना खाएर रातको समयमा त्यही पालमुनि सुत्दै आएका छन्। एम्बुलेन्स पनि जाने बाटो नरहेको धर्नास्थलबाट भारतीय प्रहरीका गाडी निर्वाध रूपमा आउँदा आन्दोलनकारी दलको छवि नकारात्मक बन्दै गएको छ। स्रोतका अनुसार भारतीय प्रहरीका गाडी आउँदा धर्नामा बसेका नेता समेना टाँगिएका बाँस हटाएर गाडी प्रवेश गराउँछन्। ‘गाडी फर्किने बेला हात हल्लाएर बिदाइसमेत गर्छन्,’ ती स्रोतले भन्यो। सीमावर्ती क्षेत्रका बासिन्दा पैदल मितेरी पुल वारपार गर्छन्। पुलको दुवै छेउसम्म रिक्सा, टाँगा र टेम्पो चल्ने गरेका छन्। नाका सिल, धर्ना भने हटेन  सीमावर्ती विहार विधानसभाको चौथो चरणको निर्वाचनका लागि भारतीय प्रशासनले शनिबार बिहानदेखि ४८ घण्टासम्मका लागि प्रमुख नाका सिल गरेको छ। भारतीय सुरक्षाकर्मीले रक्सौल कस्टमको ढाट खसाएका छन्। ढाटभन्दा मात्र ३० मिटरको दूरीमा मधेसवादी दलका नेता तथा कार्यकर्ता धर्नामा बसेका छन्। जानकारका अनुसार यसअघिका लोकसभा र विधानसभाका निर्वाचनका लागि बोर्डर सिल हुँदा भारतीय सीमा सुरक्षा बलले मितेरी पुलमा यात्रुलाई उभिन समेत दिँदैनथे। 

No comments:

Post a Comment