Tuesday, October 13, 2015

नयाँ सभामुख चुन्‍न शुक्रबार निर्वाचन

काठमाडौं: व्यवस्थापिका संसद्का सभामुखको निर्वाचन प्रक्रिया आगामी बुधबार सुरु गरी शुक्रबार सम्पन्न गर्ने जानकारी संसद् सचिवालयले दिएको छ। यसैगरी राष्ट्रपतिको निर्वाचन प्रक्रिया कात्तिक १० गते हुनेछ। नयाँ संविधान घोषणा भएको अवस्थामा व्यवस्थापिका संसद् जारी भए सात दिनभित्र र नभएमा १४ दिनभित्र प्रधानमन्त्रीको चयन गर्ने संवैधानिक प्रावधानअनुसार एमाले अध्यक्ष केपी ओलीले सोमबार प्रधानमन्त्री पदको शपथ खाएका छन्। यसैगरी संसद् बसेको २० दिनभित्र सभामुखको निर्वाचन हुनुपर्ने प्रावधानअनुसार सचिवालयले आगामी बुधबार सभामुखको निर्वाचन प्रक्रिया सुरु गरी शुक्रबार नयाँ सभामुखको चयन गर्ने भएको छ। कोजाग्रत पूर्णिमाको भोलिपल्ट कात्तिक १० गते राष्ट्रपति निर्वाचन प्रक्रिया सुरु गरिने भएको छ। सभामुख र राष्ट्रपति पदको निर्वाचनका लागि सत्ताको नेतृत्व लिएको एमाले र सत्तामा दोस्रो घटक एमाओवादीबीच निर्णायक वार्ता हुन बाँकी रहेको एमाओवादीका महासचिव कृष्णबहादुर महराले बताए। दुई प्रमुख पदमा एमाले र एमाओवादीबीच भागबन्डा हुने एमाओवादीका अर्का एक नेताले बताए। उनले भने, ‘हामी व्यवस्थापिका संसद्को सभामुख छोड्दैनौं।' उनका अनुसार एमाओवादीले राष्ट्रपति र उपराष्ट्रपतिमध्ये एक पदमा दाबी गर्नेछ।एमालेले राष्ट्रपति पदमा मुलुकलाई नयाँ संविधान दिन सफल भएका वर्तमान सभामुख सुवास नेम्बाङ, पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष विद्यादेवी भण्डारी वा समाजका कुनै एक लब्धप्रतिष्ठित व्यक्तित्वमध्ये एकजनालाई चयन गर्ने जानकारी पार्टी स्रोतले दिएको छ। नवनिर्वाचित प्रधानमन्त्री केपी ओली भण्डारीलाई राष्ट्रपति बनाउने प्रयासमा रहेका छन्। स्रोतका अनुसार ओलीले यस सम्बन्धमा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग अनौपचारिक प्रस्ताव गरिसकेका छन्। नेपालको कम्युनिस्ट आन्दोलनलाई बहुदलीय जनवादका माध्यमबाट प्रजातान्त्रिक पद्धतिमा रूपान्तरण गर्न सफल नेता मदन भण्डारीकी धर्मपत्नी, रक्षालगायतका मन्त्रालयको जिम्मेवारी समालिसकेकी व्यक्तित्वका साथै आखिल नेपाल महिला संघको अध्यक्षसमेत भइसकेकी भण्डारी राष्ट्रपतिका लागि योग्य रहेको दाबी ओलीको छ।

No comments:

Post a Comment