Friday, October 30, 2015

पालुंगो औषधीय गुणले भरिपूर्ण साग

कार्तिक १२, २०७२- पालुंगोमा पाइने गुण अन्य सामान्य सागसब्जीमा पाइँदैन । यसैले पालुंगो स्वास्थ्यको दृष्टिले अति उपयोगी मानिन्छ । यो सस्तो र सर्वसुलभ पनि हुन्छ । आयुर्वेद अनुसार, महिलाका लागि पालुंगोको साग अत्यन्त उपयोगी हुन्छ । महिलाले यदि आफ्नो अनुहारको नैसर्गिक सौन्दर्य र लालिमा बढाउन चाहन्छन् भने उनीहरूले नियमित रूपमा पालुंगोको रसको सेवन गर्नुपर्छ । पालुंगोको निरन्तर सेवनले छालामा निखार आउने देखिएको छ । छाला नरम पनि हुन्छ । स्निग्धता बढ्छ ।पालुंगो पकाएर, तरकारीका रूपमा खानुभन्दा काँचै खाँदा नै बढी लाभप्रद र गुणकारी हुन्छ । यसको सेवनले रगत शुद्घ हुन्छ । पालुंगो मुलुकको करिब करिब सबै भागमा पाइन्छ । यसको बिरुवा करिब एकदेखि डेढ फुट अग्लो हुन्छ । यो शीत ऋतुमा बढी मात्रामा उम्रिन्छ ।  यसमा पाइने तत्त्वमा मुख्यत: क्याल्सियम, सोडियम, क्लोरिन फोस्फोरस, फलाम, खिनिज, लवण, प्रोटिन, श्वेतसार, भिटामिन ‘ए’ र ‘सी’ आदि उल्लेखनीय छन । यी तत्त्वमा पनि फलाम विशेषत: पाइन्छ । लौह तत्त्व मानव शरीरका लागि उपयोगी, महत्त्वपूर्ण र अनिवार्य हुन्छ । फलामले गर्दा नै मानव शरीरको रगतमा स्थित रक्तानुमा रोग निरोधक क्षमता तथा रगतमा रातोपना आउँछ । आयुर्वेदका अनुसार शरीरमा फलामको कमीले शक्तिमा ह्रास, शरीर निष्तेज हुनु, उत्साह हिनता, स्फुर्तिको कमी, आलस्य, दुर्बलता, अरुचि र कलेजो सम्बन्धी बिकार उत्पन्न हुन्छ । पालुंगो साग वायु कारक, शीतल, कफ बढाउने, श्वास, पित्त, रक्त बिकार एवं ज्वरोलाई हटाउने मानिन्छ । आयुर्वेद अनुसार, पालुंगोको तरकारी सामान्यत: रुचिकर तथा छिट्टै पच्ने खालको हुन्छ । यसको बीउ शीतल दिने खालको हुन्छ । सास फेर्न कठिनाइ भएको, कलेजो सुन्निएको भए निको पार्न यही तरकारी उपयोगी मानिन्छ ।

No comments:

Post a Comment