Sunday, October 25, 2015

चीनले अनुदान दिएको तेल अहिलेकै मूल्यमा बिक्री हुने

कार्तिक ८, २०७२- सरकारले चीनबाट पेट्रोल मात्रै ल्याउने भएको छ । चीनले अनुदानस्वरुप एक हजार मेट्रिक टन (दश लाख लिटर) इन्धन दिने बताएपछि सोही परिमाणमा पेट्रोल मात्रै ल्याउने तयारी गरेको हो । ‘चीनले अनुदानमा दिन लागेकोमा पेट्रोल मात्रै ल्याउने छौ,’ नेपाल आयल निगमका प्रबक्ता दीपक बरालले भने, ‘इन्धन ल्याउने बिषयमा वार्ताको लागि बाणिज्य मन्त्रालय, परराष्ट्र मन्त्रालय, निगमको प्रतिनिधी एक/दुई दिनमै चिन जानेछ ।’ अनुदानका इन्धन यही साताभित्र नेपाल भित्रिने छ । यही साताभित्र दीर्घकालीन विकल्पका लागि समेत चीनसँग सम्झौता गर्ने तयारी सरकारले गरेको छ । त्यसपछि चीनबाट औपचारिकरुपमा तेल ल्याउने बाटो खुला हुनेछ भने भारतीय आयल कर्पोरेसन (आइओसी) को एकाधिकार पनि तोडिने छ । ‘पहिलो चरणमा अनुदानको तेल ल्याउने छौ,’ बरालले भने, ‘त्यसपश्चात नेपालमा खपत हुनेमध्ये केही प्रतिशत इन्धन चीनबाट ल्याउने तयारी छ ।’ सवारी साधनको बृद्धिसँगै मुलुकभित्र इन्धनको माग वर्षेनी १० देखि १२ प्रतिशतले बढ्दै गएको छ । भारतबाट मात्रै आयात हँुदा सामान्य अवस्थामा पनि अभाव हुने गरेको छ । बेला बखतमा हुने अभावलाई हटाउन चीनबाट आयात अत्यावश्यक भएको निगमको ठहर छ । ‘इन्धनको माग वर्षेनी बढ्दै गएपनि भारतबाट मात्रै आयात हँुदा माग पूर्ति हुन सकेको छैन,’ प्रबक्ता बरालले भने । तेल आपूर्तिका लागि निगम र चीनको सरकारी स्वामित्वको चाइना नेसनल पेट्रोलियम कर्पोरेसनबीच सम्झौता हुने जनाइएको छ । सम्झैताका लागि परराष्ट मन्त्रालय, बाणिज्य तथा आपूर्ति मन्त्रालय, आयल निगम सहितका टोली सोमबार चिन जाने तयारी छ । यूरो–४ मापदण्डको पेट्रोल निगमका अनुसार चीनले यूरो–४ मापदण्डको पेट्रोल दिने छ । निगम आइओसीबाट युरो–३ मापदण्डको पेट्रोल आयात गरिरहेको छ । ‘युरो–४ अहिले प्रयोग गरिरहेको इन्धन भन्दा राम्रो गुणस्तरको हो,’ बरालले भने । युरो–४ तेलले गाडीले बढी माइलेज दिने र सवारी साधनको आयूसमेत बढाउँछ । केरुङ नाकाबाट इन्धन चीनले दिन लागेको अनुदानको पेट्रोल केरुङ नाकाबाट पठाउने भएको छ । चीनले केरुङको आफ्नो डिपोमा खन्याउँने र त्यसपश्चात ट्यांकर मार्फत पेट्रोल नेपाल ल्याइने निगमले जनाएको छ । चीनले इन्धन ढुवानी गर्ने ट्यांकर तयार पार्न मौखिकरुपमा भनिसकेको छ । बरालका अनुसार चीनले अनुदानको इन्धन २५ नोभेम्बरसम्ममा लगिसक्न भनेको छ । ती इन्धन ५/६ ट्रिपमा उठ्ने निगमले जनाएको छ । निगमका अनुसार केरुङबाट इन्धन आयात गर्न १२ किलो लिटरसम्म बोक्ने ट्याङकर चाहिन्छ । अहिले भारतबाट १२ देखि २० किलो लिटरसम्म बोक्न ट्याङ्करले ढुवानी गर्दे आएका छन । ‘इन्धन आयात गर्नका लागि ट्याङकरहरुले विभिन्न प्रक्रिया पुरा गर्नुपर्छ । व्यवसायीलाई पनि सोही अनुसार ट्याङ्करको कागजातहरु तयार पार्न भनेको छौ,’ प्रबक्ता बरालले भने । मुलुकमा करिब १४ सय टयांकरबाट इन्धन ढुवानी हुन्छ । उपत्यकामा दैनिक ३ सय ५० किलोलिटर पेट्रोल र साढे ४ सय किलोलिटर डिजेलको माग छ । अनुदानस्वरुप आयात हुने पेट्रोल करिब ३/४ दिनको लागि मात्र्रै हुने निगमले जनाएको छ । ‘अहिले अवस्था सहज बनाउन २५ देखि ३० लाख लिटर आवश्यक छ,’ बरालले भने । अनुदानको तेल प्रतिलिटर १ सय ४ रुपैयाँमा बिक्री गरिने निगमले जनाएको छ ।

No comments:

Post a Comment