Saturday, October 10, 2015

कोठामा राखेको पेट्रोलले तीनजनाको मृत्यु

काठमाडौँ : काठमाडौं महानगरपालिका–३५ कोटेश्वर चोक नजिक गएराति भएको आगलागीबाट एकै परिवारका तीन जनाको मृत्युभएको छ । कोटेश्वरको ट्राफिक प्रहरी बिट पछाडि भएको आगलागीमा परेर रामेछाप लखनपुर–८ का ३२ वर्षीय लेखराज श्रेष्ठ, उनकी २८ वर्षीया श्रीमती देउकी र आठ वर्षीया छोरी जेनिशाको निधन भएको महानगरीय प्रहरी वृत्त बानेश्वरले जनाएको छ । मृतकमध्ये लेखराजको घटनास्थलमै र उनकी श्रीमती र छोरीको उपचारका क्रममा कीर्तिपुरस्थित मोडल अस्पतालमा निधन भएको हो । आगलागीमा परेर गम्भीर घाइते भएका एक वर्षीय बालक युनिस श्रेष्ठको शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ । मृतक लेखराज ट्याक्सी चालक रहेका छन् । कोठामा सञ्चित गरेर राखेको पेट्रोल एउटा भाँडोबाट अर्को भाँडोमा सार्ने क्रममा नजिकै बलिरहेको मैनबत्ती सल्केर अचानक आगो फैलँदा उनीहरु जल्न पुगेका थिए । सो आगलागीबाट कोठामा रहेका सरसामानसमेत जल्नुका साथै घरमासमेत क्षति भएको छ । रासस

No comments:

Post a Comment