Friday, October 30, 2015

सौर्य ऊर्जाबाट अर्बपति

कार्तिक १४, २०७२- चीनको धनाढ्यहरूमध्ये ली हेजुन पनि एक हुन्। उनी नवीकरणीय ऊर्जामा लगानी गर्ने चिनियाँ उद्यमी हुन्। उनको सम्पत्तिको स्रोत आफैंले सञ्चालनमा ल्याएको सौर्य ऊर्जा कम्पनी हो। सौर्य ऊर्जाका लागि आवश्यक पर्ने उपकरणको उत्पादन उनको कम्पनीले गर्दै आएको छ। चीनको राजधानी बेइजिङमा बसोबास गर्ने हेजुनलाई फोब्र्सले यो वर्ष अर्बपतिको सूचीमा ३८औं स्थानमा राखेको छ। उनको कूल सम्पत्ति २१ दशमलव १ अर्ब अमेरिकी डलर रहेको छ। नवीकरणीय ऊर्जा कम्पनी ‘ह्यानेर्जी’ समूहका प्रमुख हुन्, उनी। यो वर्षको सुरुमा उनी चीनकै सर्वाधिक धनाढ्य बनेका थिए। तर, मेको अन्त्यसम्ममा उनको स्थिति केही तल झरिसकेको छ। सन् १९६७ मा हेयुआन ग्वाङडोङमा जन्मेका उनी आफ्नो बाल्यकाल त्यही बिताएका थिए। सुरुको अवस्थामा उनको ‘हानेर्जी थिन पावर ग्रुप लिमिटेड’ ग्लोबल सोलर इन्ड्रस्ट्री क्षेत्रमा धेरै माथि रहेको थियो। उनको व्यापारले विश्वजगतलाई सौर्य ऊर्जाको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ। हेजुनको अतित अत्यन्तै संघर्षपूर्ण रह्यो। पटक–पटक उनी विवादमा समेत मुछिए। तर, हरेस भने कहिल्यै खाएनन्, सधैं आफ्नो लक्ष्यमा पुग्न तत्पर रहे। उनले एउटा व्यापारपछि अर्कोमा पनि लगानी गर्न पछाडि परेनन्। जहाँसम्म व्यापारमा उनको प्रवेशको कुरो छ, सन् १९९४ मा इलेक्ट्रोनिक्स सामान र खेलौनाबाट हेजुनले आफ्नो व्यापार थालेका हुन्। पछि त्यही व्यापारलाई उनले हानेर्जी ग्रुप नाम दिए। चीनको दक्षिणपूर्वस्थित ग्वाङडोङ प्रान्तको हेयुआन सहरमा सानो ड्याम्स निर्माणमा आबद्ध भई जलविद्युत् निर्माणमा उनले पहिलो ब्रेक पाएका हुन्। उक्त ड्याम निर्माणपछि १९९० को मध्यमा त्यहाँको स्थानीय सरकारले कारखानाहरूमा पर्याप्त मात्रामा बिजुलीको आपूर्ति गर्न सफल भयो। तर, १९९० को अन्त्यतिर उनको जीवनमा आमूल परिवर्तन आयो, जब चीनको दक्षिणपश्चिम प्रान्त युनानको स्थानीय सरकारले निजी उद्यमीहरूलाई भौतिक संरचना निर्माणमा समेत निम्तो गर्‍यो। युनानले राजधानी बेइजिङलाई जलस्रोत क्षेत्रमा आकर्षण गर्न संघर्ष गरिरहेकै बेला लिले लगानी गर्न चासो देखाए। युनानको प्रान्तीय सरकारले हेजुनसँग तत्काल जिन्सा नदीमा आठवटा ठूला जलविद्युत् ड्याम्स निर्माण गर्न सम्झौता गरेको थियो। यसले युनानतर्फ बेइजिङको पर्याप्त ध्यानाकर्षण भएको थियो। सन् २००० को सुरुमा राज्यस्तरका विद्युत् विकासमा योगदान पुर्‍याउने निकायले निजी कम्पनीको लगानीमाथि प्रश्नचिह्न खडा गर्दै हेजुनलाई विवादमा मुछेपछि उनले आफ्नो व्यापार परिवर्तन गर्ने निधो गरेको बताइन्छ। अझ वातावरण बचाऊ अभियानमा लागेकाहरूले हेजुनको परियोजनाअन्तर्गत ड्याम्स निर्माणलाई अस्थायी रूपमा रोक लगाएपछि उनी त्यसलाई पनि परित्याग गरे। त्यसको केही वर्षपछि उनले वायु ऊर्जामा आफ्नो कम्पनीलाई प्रवेश गराउने प्रयास गरे। सन् २०१० मा हानेर्जीले युनान प्रान्तमा ड्याम निर्माण पूरा गर्न चीनको ‘स्याडो बैंकिङ सिस्टम’ मार्फत धेरै रकम असुल्न सफल भएको थियो। जिनानक्विओ ड्यामलाई ‘क्यास काउ’ नामसमेत राखेका थिए, हेजुनले। त्यही रकमले उनलाई सौर्य ऊर्जामा लगानीका लागि सहयोग पुर्‍यो। पछि सौर्य ऊर्जा कम्पनीबाटै उनले आफ्नो आम्दानी बढाउँदै लगेर अर्बपति बनेको बताइन्छ। यसरी इलेक्ट्रोनिक्स उपकरणहरूको उत्पादनबाट थालेको व्यापारले हेजुन बिस्तारै जलविद्युत् हुँदै सौर्य ऊर्जा कम्पनीमा लगानी गर्न पुगे र मनग्ये धन आर्जन गरे। पछि फोटोभोल्टेइक इन्ड्रस्ट्रीमा केन्द्रित गरे। त्यसमा उनले ३ दशमलव ४२ अर्ब अमेरिकी डलर लगानी गरेका थिए। उक्त उद्योगमार्फत अनुसन्धानसँगै पातलो सौर्य फिल्मको विकास गर्न थाले। आफ्नै गृहनगरमा दुईवटा विद्युत् उत्पादन केन्द्रसमेत बनाए। यति गर्दा पनि उनीबारे हेयुआनका बासिन्दाको मिश्रित प्रतिक्रिया छ। केहीले उनलाई हानेर्जीमार्फत विद्युत् उत्पादन केन्द्रका नाममा जग्गाको गलत प्रयोग गरेको आरोप लगाएका छन्। केहीले भने उनलाई विकास निर्माणका सहयोगकर्ताका रूपमा लिएका छन्।

No comments:

Post a Comment