Thursday, October 29, 2015
पश्चिमी वायुको प्रभावले देशका विभिन्न भागमा वर्षा
काठमाडौँ-बुधबार साँझदेखि पश्चिम नेपालका विभिन्न जिल्लासहित देशका विभिन्न भागमा वर्षा भएको छ।मनसुन सकिएपनि पश्चिमी वायुको प्रभावले हिजो रातिदेखि पश्चिम नेपालका केही ठाउँमा वर्षा भएको जल तथा मौसम विभागले जनाएको छ। मौसमविज्ञ वरुण पौडेलले मध्य अरब सागरबाट बादल उठेर आएका कारण नेपालका मध्य तथा पूर्वी जिल्लामा पनि वर्षा भएको जनाए। वर्षा हुने क्रम पश्चिमबाट पूर्वतर्फ बढेका कारण आज साँझदेखि पश्चिम भागमा वर्षा हुने क्रम बन्द हुँदै भोलि बेलुकासम्म सबै क्षेत्रमा वर्षा रोकिने उनको भनाइ छ। पानी परेसँगै काठमाडौँमा बिहीबार बिहानदेखि जाडो बढेको छ।
हिजो साँझदेखि पश्चिम नेपालका दिपायल, डडेलधुरा, नेपालगञ्ज, जुम्ला, दाङ, पोखरा भैरहवालगायत स्थानका साथै पूर्वी नेपालका काठमाडौँ र यस आसपासका जिल्लामा पानी परेका कारण पाकेको धानखेतीलाई असर पु¥याएको हो । पानीका कारण काटेर सुकाउन लागेको धान भिजेको र काट्ने तयारीमा लागिएको धानका लागि पनि असर पारेको कृषकहरू बताउँछन्।
काठमाडौँका अधिकांश स्थानमा धान काट्न बाँकी रहेका कारण धान काट्न एक दुई दिन ढिला हुने भए पनि त्यसको असर धेरै नपरेको दक्षिणकाली कृषि सेवा केन्द्रका प्रमुख रघुनाथ खड्काले बताए।
कृषि विकास अधिकृत रेवतीराज शर्माले पानीले काटेको धानको परालमा सामान्य असर पारे पनि लगातार पानी नपरेमा खासै असर नपर्ने बताए। काट्ने तयारीमा रहेको धानलाई सामान्य पानीले असर नपार्ने भए पनि हावाहुरीसहित पानी आएमा केही धान झर्नसक्ने उनले बताए। रासस
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment