Thursday, May 19, 2016

निजी अस्पतालमा काम गर्ने सरकारी डाक्टरलाई कारबाहीको माग

सरकारी तलब सुबिधा लिएर निजी अस्पतालमा काम गर्ने चिकित्सकलाई कारबाही गर्न झापाको एक समूहले सरकारसँग माग गरेको छ। सचेत नागरिक समूह झापाले बिहीबार एक विज्ञप्ति प्रकाशित गरी सरकारको तलब–भत्तासहित अन्य सुबिधा लिने अनि निजी अस्पतालमा पूर्णकालीन रुपमा काम गर्ने चिकित्सकलाई कारबाही गर्न सरकारसँग माग गरेको हो। सचेत नागरिक समूहले चिकित्सकलाई सरकारको तलब भत्ता लिएपछि सकारकै काम गर्न पनि अनुरोध गरेका छन्। झापाका विभिन्न सरकारी अस्पतालमा पूर्णकालीन सेवामा रही राज्यकोषबाट तलब, भत्ता तथा सेवा सुबिधा लिइरहेका केही चिकित्सकहरू जिल्लाकै विभिन्न मेडिकल हल, औषधि पसल तथा निजी अस्पतालमा काम गरिरहेको पाइएको समूहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। ‘नागरिकले तिरेको करबाट तलब सुविधा खाई कानुनविपरीत यसरी निजी मेडिकल हल, औषधि पसल तथा निजी अस्पतालमा काम गर्ने चिकित्सकलाई तत्काल कारबाही गर्न हामी सरकारसँग माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ। साथै, सरकारी सेवासुविधा उपभोग गरिरहेका त्यस्ता चिकित्सकलाई काममा नलगाउन निजी मेडिकल हल, औषधि पसल र अस्पताललाई पनि सचेत गराइएको छ। ‘कानुन र हाम्रो आग्रहविपरीत सरकारी चिकित्सकले झापाका कुनै पनि निजी मेडिकल, औषधि पसल तथा अस्पतालमा काम गरेको पाइएमा सचेत नागरिक समूहबाट स्थानीयस्तरमै प्रहरी प्रशासन समक्ष कारबाहीका लागि जिम्मा लगाउने छौं,’ विज्ञप्तिमा उल्लेख छ। उक्त समूहले जिल्लाका विभिन्न मेडिकल हल, औषधि पसल तथा निजी अस्पतालमा काम गर्ने चिकित्सकले आफ्नो आम्दानी अनुसार राज्यलाई कर नतिरेको, कर कार्यालयमा पानमा दर्ता नगरी काम गरेको, फर्म दर्तासमेत नगरेको तथा औषधि पसलेहरुले चिकित्सकहरुको नाम पसलको भित्तामा टाँसेर काम गरेकोप्रति पनि आपत्ति जनाएको छ। उक्त समूहले प्रशासनका साथै जिल्ला प्रहरी कार्यालय, अख्यितार दुरुपयोग अनुसन्धान आयोग, जिल्ला जनस्वास्थ्य कार्यालय, मेची अञ्चल अस्पताल लगायतलाई बोदार्थ पठाएको छ। सरकारी तलब सुविधा लिई निजी क्षेत्रमा काम गर्नु नेपाल स्वास्थ्य सेवा ऐन २०५३ र निजामती कर्मचारी ऐन विपरीत मानिन्छ। नेपाल स्वास्थ्य सेवा ऐन २०५३को दफा ५९ ले कम्पनीको स्थापना र सञ्चालन तथा व्यापार व्यवसाय एवं निजी प्राक्टिस गर्न नहुने भनी उपदफा १ मा सरकारी सुविधा उपभोग गर्ने स्वास्थ्यकर्मीले गर्न नहुने काम तोकेको छ। दफा ५९को उपदफाको ‘क’ मा बैंक, कम्पनी स्थापना, रजिष्ट्रेसन वा सञ्चालनको काममा भाग लिन वा स्वास्थ्य क्लिनिक वा निजी अस्पताल वा नर्सिङ होम खोल्न, सञ्चालन गर्न वा त्यस्ता स्वास्थ्य क्लिनिक वा निजी अस्पतालमा काम गर्न नपाइने भनी स्पष्ट उल्लेख छ।

No comments:

Post a Comment