Monday, May 16, 2016

यी हुन् आफ्नै सिफारिसमा पुरस्कृत हुने शिक्षा अधिकारी, कहाँ गयो नैतिकता ?

भैरहवा, ३ जेठ । पुरस्कार सम्मानित शब्द हो । समान्यतः पुरस्कार भन्ने वित्तिकै जो कोहीको मन फुरूङ्ग हुन्छ । पुरस्कार त्यस्तो व्यक्तिलाई प्रदान गरिन्छ, जसले राष्ट्रका र समाजका लागि उल्लेख्य योगदान देओस्, सामाजिक प्रतिष्ठित कार्य गरोस्, उसको कार्यले कसैको भविष्यमा परिवर्तन आओस् अथवा अध्ययन अध्यापन, साहित्य कला, विभिन्न प्रतियोगितामा उत्कृष्ट होस् । ती प्रतिष्ठित व्यक्तिलाई प्रदान गरिने पुरस्कारको मूल्यांकन अन्यले गरेको हुन्छ । तर पछिल्लो समय त्यही पुरस्कार शब्दलाई मनोमानी ढंगले पनि प्रदान गर्ने, ग्रहण गर्ने, आदि इत्यादि गरेको सुन्न र देख्न पाइन्छ । यस्तै मनोमानी ढंगले पुरस्कार ग्रहण गरेको तथ्य बाहिर आएको छ, रूपन्देहीमा । गत फागुन २९ गते देखि करिब एक महिनासम्म बुटवल र भैरहवाबाट प्रकाशित हुने सबै पत्रिका एक जना सरकारी अधिकृतको बधाईको बिज्ञापनले भरियो । सर्बसधारणलाई लाग्यो ती सरकारी अधिकृतले राष्ट्र र जनताका लागि निकै ठुलो योगदान दिएका रहेछन् । २०७२ फागुन २८ गते रूपन्देहीको २३ औं जिल्ला परिषद् । परिषद्मा विभिन्न क्षेत्रमा उत्कृष्टता हासिल गर्ने व्यक्तिलाई पुरस्कार प्रदान गर्ने जिविसले निर्णय गर्यो । जस अनुसार मिति २०७२ फागुन २३ गते रूपन्देहीका जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाको संयोजकत्वमा पांच सदस्सीय पुरस्कार निर्धारण सिफारिस समिति गठन गरियो । जसमा नेपाल पत्रकार महासंघ जिल्ला शाखाका अध्यक्ष शेरबहादुर केसी, गै.स.स महासंघका अध्यक्ष गोविन्द प्रसाद रेग्मी, खेलकुद विकास समितिका अध्यक्ष संगम सिंह थापा सदस्य रहेका थिए भने जिविसका स्थानीय शासन विज्ञ विकास पन्थी सदस्य सचिव रहेका थिए । उक्त समितिले विभिन्न विधामा उत्कृष्टता हासिल गर्ने ९ जनालाई सम्मानका लागि सिफारिस गर्यो र २३ औं जिल्ला परिषद्मा सम्पूर्णलाई जनही १५–१५ हजारका दरले पुरस्कृत तथा सम्मान गरियो । तर जिविसले विभिन्न व्यक्तिलाई प्रदान गरेको पुरस्कार तथा सम्मानमा एउटा रमाइलो तथ्य फेला परेको छ । ती नौजना मध्य जिविसले शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुराएको भन्दै रूपन्देहीका जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापालाई पनि नगदले सम्मान गरेको थियो । सम्मान गरिनुमा कसैको बिरोध छैन । तर जिल्ला शिक्षा अधिकारी थापा कसरी सम्मानित भए, त्यो रहस्य र कौतुहलता सबैमा जागेको थियो । उनलाई पत्रिकामा बधाई दिएर चाकडी र चाप्लुसी गर्न रूपन्देहीका निजि विद्यालयको होडबाजी नै चल्यो । प्राय बिबादको घेरामा परिरहने थापा सम्मानति भएको भित्रि रहस्य अहिले खुल्न आएको छ । ‘कही नभएको जात्रा हांडी गाउँमा’ भनेजस्तै शिक्षा अधिकारी थापाले आफै संयोजक भएको पुरस्कार छनौट समितिमा आफूले आफैलाई शिक्षा क्षेत्रमा योगदान पुराएको भन्दै पुरस्कृत भए । यो सुन्दा तपाईं अचम्मित हुनुभए होला । यो सत्य घटना हो । मूल्य मान्यता र नैतिकतालाई चुनौति दिँदै थापाले आफ्नै सिफारिसमा आफै सम्मानित भए । यो कुरा कहींकतैबाट पनि बाहिर आएन । दिनानुदिन रूपन्देहीबाट प्रकाशित हुने पत्रिका थापाको बधाईले भरिएको देख्दा रूपन्देहीबासीले थापालाई हाई हाईको पात्र बनाएका थिए । तर सर्वसाधरण जनतालाई के थाहा जिल्लाको शैक्षिक विकासमा योगदाने दिने शिक्षा अधिकारीले नै आफ्नै सिफारिसमा पुरस्कार थापेका हुन् भन्ने । पुरस्कार भन्दा हुरूक्क हुने शिक्षा अधिकारी थापालाई पुरस्कार थाप्न पाएपछि त नैतिकताको कुनै मतलब भएन । जसले गर्दा अहिले उनीमाथि नैतिकताको पनि प्रश्न उठ्ने गरेको छ । त्यसैले उनी आफै पुरस्कृति भए भन्छन् शिक्षाविद्हरू । तर शिक्ष्ाँ अधिकारी थापा भने आफूले स्थानीय विकास अधिकारीको आग्रहमा पुरस्कृत भएको दावी गर्छन् । रूपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले आफूले आफैलाई सामान्यतः सिफारिस नगरिने बताए । उनले भने— आफ्नो अध्यक्षतामा बनेको समितिले अध्यक्ष आफैले पुरस्कार थाप्नु त्यति उचित हुँदैन । स्थानीय विकास अधिकारी युवराज सुवेदीले पुरस्कार छनौट समितिको सिफारिसका आधारमा थापालाई सम्मान गरिएको जानकारी दिए । उनले भने— हामीले विभिन्न मापदण्ड बनाएका थियौं, सोही मापदण्ड अनुसार उहाँलाई सम्मान गरिएको हो । थापा र सुवेदीका आ–आफ्नै तर्क जिल्ला शिक्षा अधिकारी थापाले आफूले स्थानीय विकास अधिकारी युवराज सुवेदीको आग्रहमा पुरस्कार पाएको दावी गरे पनि स्थानीय विकास अधिकारी सुवेदी भने सिफारिस समितिको सिफारिसका आधारमा नै पुरस्कार प्रदान गरेको दावी गर्छन् । पुरस्कारको विषयमा थापा र सुवेदीको कुरा प्रस्ट रूपमा बा“झिएको छ । एक हप्ता बस्न पाएनन् भट्टराई शिक्षा अधिकारी टेकबहादुर थापाको रूपन्देहीबाट केही महिना अगाडि काठमाडौं जिल्ला शिक्षा कार्यालयमा काज सरूवा भयो । उनको काज सरूवा भएपछि रूपन्देहीमा शिक्षा अधिकारीको रूपमा कार्यभार सम्हाल्न प्यूठानका शिक्षा अधिकारी नारायण भट्टराई आए । तर थापाले आफ्नो पहुँचको प्रयोग गर्दै रूपन्देही छाडेनन् भने काठमाडौं शिक्षा कार्यालयमा जाँदै गएनन् । पहुँचका कारण उनी नगएपछि एकहप्ता नपुग्दै भट्टराईलाई रूपन्देहीबाट काठमाडौं जिल्ला शिक्षा कार्यालयमा सरूवा गरिएको थियो । सरकारी गाडीको दुरूपयोग विगतमा शिक्षा अधिकारी थापाले कार्यालयको बा १ झ ९५११ नम्बरको गाडीमा श्रीमती र छोरीलाई राखेर सीमावर्ती भारतीय बजार सुनौली घुमाएपछि निकै चर्चित भए । थापाले कार्यालय समयमा सरकारी गाडीमा श्रीमती र छोरीलाई दाल, चिनी, चियापत्ती, साबुन लगायतका सामान खरिद गर्न सीमापारीको भारतीय बजार सुनौलीमा लगेका थिए । सुरूमा उनका चालकले बेलहियाको विद्यालयको कार्यक्रमका लागि आफूहरू आएको बताएका थिए । तर, संचारकर्मीहरूको सोधपुछपछि उनले बजारमा किनमेल गर्न सरकारी गाडी लिएर आएको स्वीकार गरेका थिए । गाडी पनि बेलहियाको प्राविमा नभई सीमा पारी जानेहरूले पार्किङ गर्ने स्थलमा थियो । सरकारी गाडी दुरूपयोग भएको तस्बिर संचारकर्मीले क्यामरामा कैद गर्न थालेको सुर्इंको पाएपछि शिक्षा अधिकारी थापाले आफ्नी छोरी र श्रीमतीलाई केहीबेर हिंडाएर गाडी पार्किङ गरिएको स्थानभन्दा केही परबाट चढ्न लगाएका थिए ।

No comments:

Post a Comment