Monday, May 16, 2016

सिंहदरबार घेराउ गरिरहेको संघीय गठबन्धनले दियो अर्काे कडा चेतावनी (वक्तव्यसहित)

काठमाडौं, ३ जेठ । राजधानी केन्द्रीत आन्दोलन सुरु गरेको मधेसवादी दलहरुको एकीकृत संगठन संघीय गठबन्धनले सोमबार विहानै प्रेस वक्तव्य जारी गर्दै कडा चेतावनी दिएको छ । उसले शान्तिपूर्ण आन्दोलनमा दमन भए अप्रिय घटना घट्नसक्ने चेतावनी दिएको हो । गठबन्धनका प्रवक्ता परशुराम तामाङद्धारा जारी विज्ञप्तिमा भनिएको छ- ‘हाम्रो शान्तिपूर्ण अहिंसात्मक आन्दोलनमाथि दमन गरी कुनै अप्रिय घटना घटेमा त्यसको सम्पूर्ण जिम्मेवार यो नश्लवादी सरकार हुनेछ ।’ वर्तमान सरकारलाई नश्लवादी र जनविरोधी भन्दै गठबन्धनले ‘आन्दोलन दबाउने नाममा आन्दोलनको पहिलो चरणको अन्तिम कार्यक्रम “सिंह दरबार घेराउ”मा सहभागी हुनआइरहेका हजारौं नेता, कार्यकर्ता तथा सहभागीहरु चढेको यातायातको साधन प्रहरी लगाई ७, ८ घण्टासम्म एक ठाउँमा रोकीराख्ने, अनावश्यक प्रश्नगरी हैरान गर्ने, झण्डा ब्यानर खोस्ने, शान्तिपूर्ण भेला हुदै गरेका कार्यकतालाई पकटधकट गर्ने, खानतलासी गर्ने, द्वन्दकाल सम्झाउने शैलीमा बस मोटरबाट ओराली लाइन लगाएर चेकजाँच गर्नेजस्ता विश्वव्यापी रुपमा स्वीकृत विना रोकतोक एक ठाउँबाट अर्को ठाउँमा स्वतन्त्रतापूर्वक आवतजावत गर्नुपाउने नागरिक अधिकार विरोधी घृणित कार्य गरेको’ आरोप समेत लगाएको छ । हेर्नुस् संघीय गठबन्धनको प्रेश बक्तव्य (जस्ताको तस्तै): २९ वटा राजनीतिक दल एबम् मोर्चाहरु आबद्ध संघीय गठबन्धनले विभेदकारी तथा पश्चगामी संविधानको पुनर्लेखनका लागि आफनो २६ बुदे प्रस्ताव राखी देशभर संयुक्त राष्ट्रिय आन्दोलन शान्तिपूर्ण एबम् अहिंसात्मक रुपमा सफलतापूर्वक संचालन गरिरहेको सबैमा जानकारी नै छ । यो आन्दोलनमा सहभागी गर्नुहुने, समर्थन एबम् सहयोग गर्नुहुने सबै न्यायप्रेमी जनसमुदाय एबम् पत्रकारहरुलाई यो गठबन्धन हार्दिक धन्यवाद ज्ञापन गर्दछ । तर यो नश्लवादी जनविरोधी सरकारले आन्दोलन दबाउने नाममा आन्दोलनको पहिलो चरणको अन्तिम कार्यक्रम “सिंह दरबार घेराउ” मा सहभागी हुनआइरहेका हजारौं नेता, कार्यकर्ता तथा सहभागीहरु चढेको यातायातको साधन प्रहरी लगाई ७, ८ घण्टासम्म एक ठाउँमा रोकीराख्ने, अनावश्यक प्रश्नगरी हैरान गर्ने, झण्डा ब्यानर खोस्ने, शान्तिपूर्ण भेला हुदै गरेका कार्यकतालाई पकटधकट गर्ने, खानतलासी गर्ने, द्वन्दकाल सम्झाउने शैलीमा बस मोटरबाट ओराली लाइन लगाएर चेकजाँच गर्नेजस्ता विश्वव्यापी रुपमा स्वीकृत विना रोकतोक एक ठाउँबाट अर्को ठाउँमा स्वतन्त्रतापूर्वक आवतजावत गर्नुपाउने नागरिक अधिकार विरोधी घृणित कार्य गरेको छ । यो सरकारको कायरतापूर्ण जनविरोधी एबम् नागरिक अधिकार विरोधी कार्यको संघीय गठबन्धन घोर भत्सर्ना र जोडदार विरोध गर्दछ । हाम्रो शान्तिपूर्ण अहिंसात्मक आन्दोलनमाथि दमन गरी कुनै अप्रिय घटना घटेमा त्यसको सम्पूर्ण जिम्मेवार यो नश्लवादी सरकार हुने कुरा पनि यो प्रेश वक्तव्य मार्फत सबैमा जानकारी गराउँदछौं । परशुराम तामाङ प्रबक्ता, संघीय गठबन्धन संयुक्त राष्ट्रिय आन्दोलन परिचालन मूल समिति २०७३ जेठ ३ गते, काठमाडौं ।

No comments:

Post a Comment