Monday, May 2, 2016

सरकारले काम गर्न नसकेपनि परिवर्तनको बेला भएको छैन : अध्यक्ष दाहाल

काठमाडौं, २० वैशाख । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले तत्काल सरकार परिवर्तन हुने कुनै सम्भावना नरहेको बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै दाहालले सरकार परिवर्तन समस्याको समाधान नभएको बताउनुभयो । उहाँले प्रमुख प्रतिपक्षी दल कांग्रेससँग सरकार परिवर्तनका विषयमा कुनै छलफल र सम्वाद नभएको दाबी गर्नुभयो । ‘सरकार बदल्ने भन्दा मुलुकको समस्या समाधान गर्नेतर्फ दलहरूको ध्यान केन्द्रित हुनुपर्छ’, उहााले भन्नुभयो । नयाँ संविधानको कार्यान्वयन, पुनर्निर्माण तथा मधेसको समस्या समाधानका लागि दलहरुवीच राष्ट्रिय सहमति आवश्यक रहेको दाहालले बताउनुभयो । एमाओवादी अध्यक्ष दाहालले वर्तमान सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको स्वीकार गर्नुभयो । सरकारलाई कसरी प्रभावकारी रुपमा अगाडि बढाउन सकिन्छ भन्ने विषयमा आफू र प्रधानमन्त्रबीच छलफल भइरहेको उहाँले जानकारी दिनुभयो । कांग्रेस नेता प्रकाशमान सिंहले वर्तमान सरकारले जनताका पक्षमा काम गर्न नसकेको बताउनुभयो । ‘यो सरकारले जनताको अपेक्षाअनुसार कुनै पनि काम गर्न सकेको छैन’, उहाँले भन्नुभयो, ‘भूकम्पपीडितका पक्षमा त झनै कुनै सिन्को पनि भाच्न सकेको छैन ।’ कांग्रेस नेता सिंहले अब कांग्रेसले सरकारका विरुद्ध संसदमा कुरा उठाउने बताउनुभयो ।

No comments:

Post a Comment