Friday, January 1, 2016
सरकारबाट मन्त्री फिर्ता बोलाउने प्रचण्डको चेतावनी
काठमाडौं: एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले ८१ दिन पुरानो सरकारसँगको असन्तुष्टि सार्वजनिक गर्दै आफ्ना दलका मन्त्रीहरूलाई कुनै पनि समयमा सरकारबाट फिर्ता गर्ने चेतावनी दिएका छन्।
पार्टीको ३ नम्बर प्रदेशको दुईदिने बैठकलाई बिहीबार पेरिसडाँडामा सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन्।दाहालले दलका मन्त्रीहरूलाई फिर्ता हुनका लागि मानसिक रूपमा तयार हुन निर्देशन दिए पनि यसको समयसीमाबारे भने केही उल्लेख गरेनन्।
भारतीय नाकाबन्दी, कालोबजारी, चिसोले भूकम्पपीडितको मृत्यु भइरहेका बेला मन्त्रालय विभाजन गरी जम्बो मन्त्रिपरिषद् बनाउने प्रधानमन्त्री केपी ओलीको निर्णय, मन्त्रीहरूका अलोकप्रिय निर्णय र मन्त्रीहरूका कार्यशैलीप्रति पार्टीभित्र गुनासो बढ्दै गएपछि दाहालले कार्यदक्षता देखाउन नसक्ने नेताहरूलाई सरकारमा राखिराख्नु पार्टीका लागि हित नहुने बताएका हुन्।
‘सरकारमा बसिराख्दा हाम्रो शिर गिर्ने भयो। कार्यदक्षता देखाउन नसक्ने हो भने हामी त्यहाँ किन बसिराख्नु पर्यो? हामी रिट्रिट (फर्कने) हुन पनि सक्छौं', दाहालले बैठकमा भने, 'सरकार ढल्ने अवस्था सिर्जना नगरौंला। समर्थन दिइराखौंला तर सरकारबाट फिर्ता भएर हामी सबै पार्टी निर्माणमा लागौंला।'
दाहालकै पहलमा गठन भएको ओली नेतृत्वको सरकारमा एमाओवादीका आठ नेता सहभागी छन्। एमाओवादीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरूमध्ये सबैभन्दा अलोकप्रिय गृहमन्त्री शक्तिबहादुर बस्नेत भएका छन्।
भूकम्पपीडितको कोटामा आफ्ना छोरी र आफन्तलाई चीन भ्रमणमा पठाएको बारेमा केन्द्रीय समितिमा प्रश्न उठेपछि सार्वजनिक रूपमा माफी माग्ने उनको लिखित आत्मालोचनालाई पनि उनले कार्यान्वयन गराएका छैनन्।'अब हाम्रातर्फबाट राज्यमन्त्री पठाउने कुरा हुँदैन', दाहालले भने।
दाहालले दलका मन्त्रीलाई फिर्ता हुन मानसिक रुपमा तयार हुन निर्देशन दिए।
सरकारको कार्यशैलीका बारेमा उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव कृष्णबहादुर महराले पार्टीभित्र आवाज उठाउँदै आएका छन् भने स्थायी समिति सदस्य गोपाल किराँतीले सार्वजनिक रूपमा ओली नेतृत्वको सरकारको आलोचना गर्दै आएका छन्। 'हामी पहिलेभन्दा अहिले अप्ठ्यारो राजनीतिक लडाइँमा छौं। हामीले हारेका छैनौं। हामी जितको लहरमा छौं', बैठकमा दाहालले भनेका थिए।
सरकार गठन भएको तीन महिना नपुग्दै सत्ताको मुख्य हिस्सेदार दलमध्येको एक एमाओवादी अध्यक्ष दाहालबाट आएको यस्तो अभिव्यक्तिलाई सरकार संकटमा पर्न थालेको रूपमा बुझ्न थालिएको छ। महरा इन्चार्ज रहेको तीन नम्बर प्रदेशको बुधबार र बिहीबार बसेको बैठकमा दाहालले एक नम्बर पार्टी बनाउन नेताहरूलाई आग्रह गरे।
तराई मधेसमा भइरहेको आन्दोलनलाई सम्बोधन गर्ने गरी संविधान संशोधन प्रक्रिया अगाडि बढाइएको जानकारी दिँदै दाहालले भने, 'हामी करिबकरिब सहमतिको नजिक पुगेका छौं । छिटै सकारात्मक परिणाम निकाल्छौं।'
बैठकलगत्तै दाहालले तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग नयाँबानेश्वरमा वार्ता गरेका थिए। ठाकुरसँग ४० मिनेट छलफल गरेपछि दाहालले वार्ता सकारात्मक भएको प्रतिक्रिया दिए। तमलोपा सहअध्यक्ष हृदयेश त्रिपाठीले भने दाहालसँग ठाकुरको वार्ता फलदायी नभएको बताए।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment