Friday, January 29, 2016
जिकासित लड्न डब्लुएचओले बनायो आपतकालिन टोली
१५ माघ, काठमाडौं । मानव स्वास्थ्यका लागि विश्वव्यापी चुनौति रुपमा आएको छ, जिका भाइरस । पछिल्ला दिनमा जिका भाइरसको ‘विष्फोटक फैलावट’ पछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले आपतकालिन कमिटी बनाएको छ ।
‘यो भाइरसको संक्रमण अहिले विस्फोटक ढंगले विस्तार भइरहेको छ,’ डब्लुएचओका महानिर्देशक मार्गारेट चानले जेनेभामा आयोजित एउटा विशेष ब्रिफिङमा भनिन्, ‘अहिले २३ वटा अमेरिकी देशहरुमा यो भाइरस फैलिनु गम्भीर चिन्ताको विषय हो ।’
एक वर्षभित्रै अमेरिकी क्षेत्रमा ३० देखि ४० लाखलाई यो भाइरस सर्नसक्ने अनुमान डब्लुएचओले गरेको छ । भाइरस प्रकोपले गर्दा विश्वभरका थुप्रै सरकारहरुले गर्भवती महिलालाई प्रभावित क्षेत्रमा नजान सल्लाह दिएका छन् । नेपाल सरकारले पनि प्रभावित क्षेत्रमा रहेका गर्भवतीहरुलाई स्वदेश फर्किन आह्वान गरिसकेको छ ।
चान भन्छिन्, ‘खतरा अत्यन्तै डरलाग्दो छ । त्यसैले विशेष कमिटी बनाइएको हो ।’
आउदो मंगलबार आपतकालिन कमिटीको बैठक बस्ने छ र यसले प्रभावित क्षेत्र तथा अन्य भागका मानिसहरुलाई रोगका सन्दर्भमा विशेष आह्वान गर्न सक्छ । जिकालाई विश्वव्यापी संकटका रुपमा लिने कि नलिने भन्ने विषयमा पनि कमिटीको बैठकले निर्णय गर्ने छ ।
भाइरस प्रकोपले गर्दा विश्वभरका थुप्रै सरकारहरुले गर्भवती महिलालाई प्रभावित क्षेत्रमा नजान सल्लाह दिएका छन् । नेपाल सरकारले पनि प्रभावित क्षेत्रमा रहेका गर्भवतीहरुलाई स्वदेश फर्किन आह्वान गरिसकेको छ ।
यसअघि पश्चिम अफ्रिकाबाट इबोलाको संक्रमण फैलिँदा अन्तर्राष्ट्रिय आपतकाल घोषणा गरिएको थियो । इबोलाबाट विश्वभरमा ११ हजार जनाको मृत्यु भएको थियो ।
ओलम्पिक खेलकुदको भविष्य
जिकाको प्रकोपले ब्राजिलमा हुन लागेको ओलम्पिक खेलकुद पनि प्रभावित हुनसक्ने आशंका गरिएको छ । यद्यपि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका प्रमुख थोमस ब्याचले रियो दि जेनेरियोमा आयोजना हुने ओलम्पिक खेलका क्रममा रोगको संक्रमणबाट जोगाउन आवश्यक उपायहरु अबलम्बन गरिने बताएका छन् । ब्राजिल यो भाईरसबाट अत्यधिक प्रभावित देश हो ।
जिकाबारे केहि तथ्य
-सन् १९४७ मा पहिलोपटक युगान्डामा जिका भाइरस भेटिएको थियो । तर अहिलेजस्तो प्रकोप यसअघि कहिल्यै भएको थिएन ।
– दक्षिण अमेरिकाकी राष्ट्रमध्ये पहिलोपटक ब्राजिलमा गत मे २०१५ मा जिकाको संक्रमण फेला परेको थियो । अहिले यस क्षेत्रका २० देशमा यो भाइरस फैलिइसकेको छ ।
-ब्राजिलमा मात्रै हालसम्म पाँच लाखदेखि १५ लाखसम्मलाई यो भाइरसले छोइसकेको डब्लुएचओको अनुमान छ ।
– धेरैजसो घटनामा जिकाको कुनै लक्षण नै देखिँदैन । यसको परिक्षण गर्न पनि कठिन छ ।
-पछिल्ला दिनहरुमा अस्वाभाविक रुपमा सानो टाउको भएका बच्चा जन्मिने क्रम प्रभावित क्षेत्रमा तीव्ररुपमा बढेको छ । यसलाई चिकित्सा भाषामा ‘माइक्रोसेफाली’ भनिन्छ । साथै मतिष्क विकास नभइसकेका बच्चाहरु जन्मिने दर पनि पहिलेभन्दा निकै छ । भाइरसकै कारण यस्तो भएको भनेर ठोकुवा गर्न नसकिए पनि चिकित्सकहरुले शंका भने यहि गरेका छन् ।
-विगतमा एउटा अस्पतालमा सरदर वर्षको पाँच संक्रमणहरु आउने गरेकोमा पछिल्ला ६ महिनामा ६ सयसम्म आएका छन् ।
भ्याक्सिन आउला त ?
अमेरिकाको नेसनल इन्स्टिच्युट अफ हेल्थका अधिकारीहरुले दुईवटा सम्भावित जिका भ्याक्सिनमाथि काम गरिरहेको जनाएका छन् । सन् २०१६ को अन्त्यसम्ममा भ्याक्सिन विकास हुनसक्ने संस्थाका प्रवक्ता डा. एन्थोनी फाउसीले बताए ।
औषधि निर्माता कम्पनीहरुसित भ्याक्सिन उत्पादनका विषयमा वातचित भइरहे पनि यसलाई विश्वभर पुर्याउन केहि वर्ष लाग्ने उनको भनाई छ ।
के हो जिका भाइरस ?
यो लामखुट्टेको टोकाइबाट सर्ने भाइरस हो । डेंगु रोग सार्ने लामखुट्टेले नै सार्छ जिका भाइरस । मन्द ज्वरो आउनु, टाउको दुख्नु, आँखामा समस्या आउनु यसका लक्षण हुन् । तर, धेरैजसोमा कुनै लक्षण देखिँदैन । लामखुट्टेले टोक्नबाट जोगिनु नै यो रोगबाट जोगिने एक मात्र उपाय हो ।
यो पनि पढ्नुस्
के अब दक्षिण अमेरिकी महिलाले सन्तान जन्माउन नपाउने हुन् ?
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment