Tuesday, January 26, 2016

नाकाबन्दी आन्दोलन पुनर्विचार हुन्छः महेन्द्र यादव

१२ माघ, काठमाडौं । मधेसी मोर्चाको एक घटक तराई मधेस सदभावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले नाकाबन्दी सहितको आन्दोलनमा पुनर्विचार हुने बताएका छन् । अबको केही दिनमा बस्ने मधेसी मोर्चाको बैठकले माघ १८ गतेपछि आन्दोलनको कार्यक्रममा पुनर्विचार गर्ने सम्भावना रहेको उनले बताए । रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा मधेसी मोर्चाका नेता भने-‘नाकाबन्दी भएको लामो समय भईसक्यो । यसले जनजीवन कष्टकर भईसक्यौ । आन्दोलन लामो भइसकेकोले अब स्वरुप परिवर्तन गर्नुपर्छ ।’ उनले अबको आन्दोलन तराईमात्रै नभई पहाड र हिमालसम्म पुर्‍याएर राष्ट्रिय एकता कायम गर्ने दाबी गरे । आफूहरुले चलाएको अहिंसात्मक आन्दोलन असफल भए देश अर्को कोर्षमा जाने र त्यो बेला आन्दोलन आफूहरुको हातमा नरहने चेतावनी दिए । उनले बाहिर चर्चा भए जस्तो मधेस आन्दोलनको लागि महागठबन्धन निर्माणको योजना नरहेको बताए । तमसपा अध्यक्ष यादवले भने-मधेसमा नौ दलको गठबन्धन छँदैछ त्यसमा अरु दललाई ल्याएर विस्तार गरे हुन्छ । महागठबन्धन निर्माणको आवश्यकता छैन ।’ कार्यक्रममा तराई मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री जितेन्द्र सोनलले संविधान संसोधनकै आधारमा नाकाबन्दी खोल्ने स्थिति नबनेको बताए । संविधान संशोधनले आफूहरुको मागको एउटा विन्दु पनि छुन नसकेको भन्दै उनले आन्दोलनको स्वरुप परिवर्तन गर्नु पर्ने भए अब मधेसी जनताको विचमा राखेर मात्रै अघि बढ्ने स्पष्ट पारे । उनले नेपालको हरेक परिवर्तनमा भारतको भूमिका सकारात्मक रहेको भन्दै दुई मुलुकवीचको सम्बन्ध चीर पर्यन्त रहने दावी गरे । सद्भावना पार्टीका सह महामन्त्री देवेन्द्र यादवले मधेसी जनताको भावना माथि कुठाराघात गरे मधेसले कडा जवाफ दिने चेतावनी दिए ।

No comments:

Post a Comment