Friday, January 1, 2016
पाकिस्तानमा थप नौजनालाई मृत्युदण्ड
इस्लामावाद : पाकिस्तानमा थप नौ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ । पछिल्लो समयमा पाकिस्तान सरकारले मृत्युदण्डको सजायलाई सशक्त बनाएको छ ।
पाकिस्तानको लाहोरमा विभिन्न कानुनी सेवामा सम्लग्न विदेशी तथा स्वदेशी नागरिकको हत्या तथा मस्जिदमा हमलामा सम्लग्न रहेको आरोप लागेका ती नौ जनालाइै मृत्युदण्डको सजाय सुनाइएको हो ।
गम्भीर अपराधमा सम्लग्न पाइएका ती आतङ्ककारीलाई यो सजाय सुनाइएको पाकिस्तानी सैनिक प्रमुखले खुलासा गर्नुभएको समाचारमा जनाइएको छ ।
पाकिस्तानी सैनिक प्रमुख जर्नेल राहिल सरिफले थप नौ जना आतङ्ककारीलाई शुक्रबार मृत्युदण्डको सजाय सुनाइएको समाचारको पुष्टि गरे ।
उनले भनेका छन्, 'गम्भीर प्रकृतिका अपराधमा सम्लग्न भएका ती आतङ्ककारीलाई मृत्युदण्डको सजाय सुनाइएको छ ।'
उनीहरुले सैनिक अदालत तथा राष्ट्रपतिको कार्यालयमा नै आफू विरुद्धको कारबाहीका लागि अपिल गर्न पाउने कानुनी प्रावधान छ । साथै उनीहरुले पाकिस्तानी राष्ट्रपतिसँग पनि अपिल गर्न पाउने अधिकार राख्छन् ।
तर पनि प्रधानमन्त्री नवाज सरिफले यसअघि नै एक सार्वजनिक कार्यक्रममा नागरिकको हत्या गर्ने तथा मस्जिद हमलाजस्तो अपराध गर्ने कसैलाई पनि यस्तो सजाय रोक्ने काम नगर्न आग्रह गरेका थिए ।
पाकिस्तानमा गएको सात वर्षदेखि मृत्युदण्डसम्बन्धी कानुनमा रोक लगाइएको थियो । मानवअधिकारवादीहरुको दबाबका कारण सो कानुनमा रोक लगाइएको थियो ।
तर गत वर्षको नोभेम्बर महिनामा पाकिस्तानको पेसावरमा रहेको एक विद्यालयमा हमला गरी आतङ्ककारीहरुले कम्तीमा पनि १३४ जना बालबालिकाको हत्या गरेपछि त्यहाँ पुनः यो कानुन ल्याइएको छ ।
यो कानुन सुरु भएपछिको वर्षदिनमा त्यहाँ कैयौँ जनालाई मृत्युदण्डको सजाय दिइसकिएको पाकिस्तानको राजधानी इस्लामावादबाट प्राप्त समाचारमा जनाइएको छ । एजेन्सी
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment