Thursday, January 21, 2016

आइओसीले काठमाडौं आउने ट्यांकरमा तेल दिएन

८ माघ, काठमाडौं । भारतीय आयल कर्पोरेशन (आइओसी) ले रक्सौल डिपोबाट काठमाडौं आउने ट्यांकरहरुमा तेल दिन अस्वीकार गरेको छ । रक्सौलबाट हवाइ इन्धन र डिजेल दिने भनेपनि प्रतिवद्धता अनुरुप आइओसीले ब्यवहार नगरेको नेपाल आयल निगमले जनाएको छ । रक्सौलमा तेल भरेर सुनौली नाका हुँदै काठमाडौं ल्याउने निगमको योजना थियो । आईओसीले पहिलोपटक एक ट्यांकर हवाइ इन्धन पनि दिएको थियो । तर, त्यसपछि हवाइ इन्धन लोड नदिएको आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले अनलाएनखबरलाई बताए । आइओसीले सुरुमा रक्सौल डिपोबाट ७ हजार किलोलिटर हवाइ इन्धन दिन सकिने बताएको थियो । तर, पछि उसले हवाइ इन्धन नदिएपनि डिजेल दिन सकिने संकेत गरेको थियो । तर, अहिले हवाइ इन्धन र डिजेल दुबै दिन मानेन । आईओसीले अमलेखगञ्जको डिपोको ट्यांकरमा मात्र लोड दिएको छ । काठमाडौं आउने ट्यांकरमा लोड दिन नमानेको आयल निगमले जनाएको छ । ‘अमलेखगञ्ज रक्सौलबाट ५६ किलोमिटरको दुरीमा छ । तर, सुनौलीबाट आउने तेल अमलेखगञ्जको ट्यांकरमा मात्र लोड दिएकाले ल्याउन उपयुक्त देखेनौं’ प्रवक्ता घिमिरेले भने । उनका अनुसार अमलेखगञ्ज डिपो अन्तरगतका ट्यांकरमा मात्र लोड दिँदा काठमाडौंको अभाव सम्बोधन हुँदैन । त्यसै कारण निगमले थप ट्यांकरलाई रक्सौल डिपोमा तेल लिन पठाएको छैन । भारतले काठमाडौंको तेल आपूर्तिलाई प्रभावित गर्नका लागि नै रक्सौलबाट तेल दिन नचाहेको आयल निगमको आशंका छ । ‘काठमाडौंको लाइफलाइन रक्सौल हो । तर, त्यहाँबाट काठमाडौं आउने गरी तेल दिन भारतले चाहेको छैन’ आयल निगमका एक अधिकारीले भने । अब आयल निगमसँग लागत बढी परेपनि अमलेखगञ्जकै लागि लोड गरेको तेल काठमाडौैं ल्याउनुको विकल्प छैन ।

No comments:

Post a Comment