Tuesday, January 26, 2016

अनौठो परम्परा जहाँ कुकुरसँग बच्चाको बिहे गराइन्छ !

दुनियामा अनेकथरीका प्रथा परम्परा हुन्छन् । भारतको छत्तिसगढस्थित बेलगिरीमा बसोबास गर्ने सन्थाल आदिवासीहरुमा एक अनौठो परम्परा छ । मकर संक्रान्तिको अवसरमा यो आदिवासी समुदायका मानिसहरु आफ्ना बच्चाबच्चीको जिवनको मृत्युदोष हटाउनका लागि कुकुरसँग बिहे गरिदिन्छन् । अझ मृत्युदोष पत्ता लगाउने तरिका झनै अनौठो छ । जब बच्चा केही महिनाको भएसँगै उसका दुधे दाँत आउन थाल्दछन्, मुस्कुराउन थाल्दछ अनि बोल्न पनि थाल्दछ बाबुआमाका लागि खुसीको सीमा रहँदैन । तर सन्थालहरुका लागि भने यो समय निकै पीडादायी समय हुन्छ । यदि बच्चाको माथिल्ला दाँत पहिले आए भने त्यसलाई मृत्युदोष मानिन्छ । त्यसैले आमाबुवाहरु आफ्नो बच्चाको तल्लो दाँत पहिले पलाओस् भन्ने कामनामा हुन्छन् । यदि उपल्ला दाँत पहिले आए भने अभिभावकहरुले आफ्नो बच्चाको बिहे कुकुरसँग गराइदिनुपर्छ । पाँच वर्ष भित्रका बालबालिकाको यसरी कुकुरसँग बिहे गराइदिने चलन छ र यो माघे संक्रान्तिमा उक्त गाउँमा एक ३ वर्षीय बालकको कुकुरसँग बिहे गराइयो । यो दोष भएका बालकको पोथी कुकुरसँग र बालिकाको भाले कुकुरसँग बिहे गराइन्छ । कुकुरसँग बिहे गराइदिएपछि बच्चाबच्चीको मृत्युदोष हट्छ भन्ने मान्यता छ । कुकुर सँग बिहे गर्ने यो समारोह निकै भव्य हुन्छ र पूरै गाउँमा उत्सव नै मनाइन्छ । यो परम्परालाई सेता बपला भनिन्छ ।

No comments:

Post a Comment