Thursday, January 21, 2016
उपत्यकामा इन्धन आपूर्ति बढ्दै
काठमाडौं: नेपाल आयल निगमले आगामी सातादेखि इन्धन बिक्रीवितरण प्रणालीमा सुधार ल्याउने तयारी गरेको छ।
उपत्यकालाई विशेष प्राथमिकतामा राखेर बिक्री प्रणाली सुधार गर्न लागिएको हो । यसका लागि निगमले क्षेत्रीय डिपोलाई इन्धन उपलब्ध गराइदिन कोटा निर्धारण गरेको छ।
निगमले उपत्यकामा इन्धन व्यवस्थापनका लागि तीनवटा क्षेत्रीय डिपोलाई आपूर्ति बढाउन निर्देशन दिएको छ। निगमले विराटनगर, भैरहवास्थित भलबारी र नेपालगञ्जस्थित क्षेत्रीय डिपोलाई आपूर्ति हुने कुल इन्धनको कम्तीमा ६० प्रतिशत पेट्रोल र डिजेल उपत्यकामा पठाउन निर्देशन दिएको हो।
निगमका प्रवक्ता मुकुन्द घिमिरेले ती तीनवटा डिपोमार्फत जे जति परिमाणमा आपूर्ति हुन्छ त्यसमध्ये अधिकतम परिमाणको इन्धन अनिवार्य रूपमा उपत्यकामा पठाउन निर्देशन दिइएको जानकारी दिए। इन्धनको नियमित आपूर्ति अवस्था हेरेर निगमले आगामी सातादेखि मागअनुसार नै दैनिक इन्धन वितरण गर्ने कार्ययोजना तयार पारेकाले त्यसको कार्यान्वयनका लागि क्षेत्रीय डिपोलाई आपूर्ति बढाउन निर्देशन दिएको हो।
निगमका प्रवक्ता घिमिरेका अनुसार पछिल्लो केही सातादेखि डिजेल र पेट्रोलको आपूर्तिमा आएको केही सकारात्मक लक्ष्णको आधारमा नयाँ रणनीति कार्यान्वयनमा ल्याउने तयारी गरिएको हो। निगमले विराटनगरस्थित डिपोलाई दैनिक सय केएल (एक लाख लिटर) पेट्रोल र तीन सय केएल (तीन लाख लिटर) डिजेल, भैरहवा डिपोलाई एक सय ५० केएल (एक लाख ५० हजार लिटर) पेट्रोल र सय केएल (एक लाख लिटर) डिजेल र नेपालगञ्ज डिपोलाई ५० केएल (५० हजार लिटर) पेट्रोल र ५० केएल (५० हजार लिटर) डिजेल गरी ुकुल तीन लाख लिटर पेट्रोल र चार लाख ५० हजार लिटर डिजेल दैनिक उपत्यकामा पठाउन निर्देशन दिएको छ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले बिहीबार राजधानीमा आयोजना गरेको इन्धनको आपूर्ति प्रणाली विषयक अन्तरसम्वादमा प्रवक्ता घिमिरेले भारतीय आयल निगमले दिने लोडिङ अवस्थाका आधारणमा वितरण प्रणाली निर्भर रहने जानकारी दिए। आगामी सातादेखि उपत्यकामा दैनिक तीन लाख लिटर पेट्रोल र चार लाख लिटर डिजेल बिक्री गर्ने निगमले कार्ययोजना तयार पारेको छ।
उपत्यकामा दैनिक तीन लाख लिटर पेट्रोल र तीन लाख ५० हजार लिटर डिजेल माग छ । इन्धनको असहज आपूर्तिका कारण अहिले निगमले दैनिक ४० देखि ५० हजार लिटर इन्धन मात्रै बितरण गर्दैआएको छ । थानकोट डिपोमा अहिले १५ लाख ७१ हजार लिटर पेट्रोल र २७ लाख २२ हजार लिटर डिजेल मौज्दात छ।
ग्यास आपूर्ति बढ्यो
पछिल्लो समय ग्यास आपूर्ति पनि बढेको छ । रक्सौल डिपोमा लोड भएका ग्यासका एक सय १८ वटा बुलेटमध्ये अहिले रिरुट गरेर एक सय १२ वटा बुलेट नेपाल आइसकेको र बाँकी ६ वटा बुलेट पनि रिरुट गरेर ल्याउने प्रक्रियामा छन्।
यसले बजारको अभाव केही कम हुनेछ । माघ १ देखि ६ गतेसम्म उपत्यकामा आधा तौल भएका चार लाख २७ हजारवटा सिलिन्डर बिक्री गरिएको छ।
सरकारी पम्पमा पनि अनुगमन
नेपाल आयल निगमले अब सरकारी स्वामित्वको पेट्रोल पम्पमा पनि अनुगमन गर्ने भएको छ । इन्धनको आपूर्ति सहज नहुँदा निगमले सरकारी पम्पलाई बढी तेल दिएको छ। 'तर सरकारी पम्पबाटै इन्धनको अपारदर्शी रूपमा वितरण भएको गुनासो प्राप्त भएकाले अब त्यस्ता पम्पमा पनि अनुगमन गरेर दोषीमाथि कारबाही गर्दैछौं', प्रवक्ता घिमिरेले भने।
उनका अनुसार यसका लागि बुधबार मात्रै उच्चस्तरमा सरकारी पम्पमा अनुगमन गर्ने सहमति भएको हो। इन्धन विज्ञ सरोज पान्डेले नेपाल प्रहरी, सशस्त्र प्रहरी, सेना, साझा र नेसनल ट्रेडिङ लिमिटेडको पम्पबाटै सबैभन्दा बढी इन्धन कालोबजारी र भ्रष्टाचार भइरहेको आरोप लगाए।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment