Sunday, January 10, 2016

प्रम ओलीले भने-सरकार छ, चिसोले जनता मर्न दिन्नौं

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्प प्रभावित क्षेत्रमा राहत वितरण र पुनःनिर्माणलाई प्राथमिकताका साथ अगाडि बढाउन सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन् । व्यवस्थापिका–संसद् मातहतको विकास समितिको आजको बैठकमा उनले नागरिकलाई सरकार छ भन्ने जनतालाई विश्वास दिलाउन लागिरहेको बताए । उनले राहत तथा पुनःनिर्माणको काम योजनावद्धरुपमा अगाडि बढाउने प्रक्रिया सुरु भइसकेको दाबी गरे । 'सरकारले आज बिहानसम्म भूकम्प प्रभावित जिल्लामा न्यानो कपडा खरिदका लागि पाँच अर्ब ५० करोड रकम वितरण गरिसकेको छ', उनले भने, 'बाँकी रहेको रु ५० करोड रकम सोमबार साँझसम्म वितरण भइसक्ने विश्वास दिलाउँछु ।' हिमाली तथा उच्च पहाडी क्षेत्रमा थप राहत रकम उपलब्ध गराउन सरकारले आवश्यक निर्देशन दिइसकेको उनको भनाइ थियो । केही दिनभित्रै ती क्षेत्रमा राहत पुगिसक्ने पनि उनले उल्लेख गरे । आज मात्रै आफूले रक्षा, गृह, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका उच्च अधिकारीलाई बोलाएर आवश्यक सबै संयन्त्र परिचालन गरी राहत वितरण गर्न निर्देशन दिएको पनि उनले जानकारी गराए । हिमाली तथा उच्च पहाडी क्षेत्रमा ५० वटा ठूला सामुदायिक तथा आवासीय भवन निर्माण गर्ने काम केही दिनभित्रै सुरु गर्ने योजनामा सरकार रहेको उनको भनाइ थियो । कतिपय जिल्लामा गाविस सचिवको अभावमा काम गर्न विगतमा केही समस्या भए पनि सरकारले क्षेत्रीय प्रशासक र प्रमुख जिल्ला अधिकारीलाई आवश्यक व्यवस्थापन गर्न भनिएका कारण पछिल्लो दिनमा सहज भएको प्रधानमन्त्री ओलीले बताए । हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपातपछि नागरिक समस्यामा परेको भन्ने गुनासो आएपछि सरकारले ती क्षेत्रमा आवश्यक औषधिसहितको टोली परिचालन गरिएको, खाद्यान्नको व्यवस्था गरिएको र आयातमा विशेष ध्यान दिइएको समितिलाई जानकारी गराए । सरकारसँग पुग्दो मात्रामा खाद्यान्नको मौज्दात रहेकाले कुनै पनि स्थानमा अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गर्दै उनले नागरिकलाई सरकार भएको अनुभव गराउन सबै प्रकारका प्रयत्न जारी राखिएको स्पष्ट पारे । स्थानीय सामग्रीकै प्रयोग गरेर भूकम्प प्रतिरोधी घर तथा आवास बनाउनुपर्ने र त्यसमा विशेष ध्यान दिनुपर्ने उनले बताए । 'स्थानीय साधन र स्रोतको प्रयोग गर्दा मुलुकभित्रको रकम मुलुकमा नै रहने भएकाले त्यसतर्फ विशेष ध्यान दिइनुपर्छ', उनले भने । जनतालाई राहतस्वरुप प्रदान गरिने दुई लाख रकम पनि यथाशीघ्र वितरण गरिने र सामूहिक जमानीमा तीन लाख रकम दिइने उनको भनाइ थियो । प्रधानमन्त्री ओलीले विगतमा राजनीतिक तथा अन्य कारण पुनःनिर्माण प्राधिकरण गठनमा ढिलाइ भएको भए पनि सबैको प्रयासबाट प्राधिकरण गठन भएको बताउँदै अब काम तीव्र रुपमा अगाडि बढ्ने विश्वास व्यक्त गरे । कुनै पनि कमीकमजोरी नहोस् भन्ने तर्फ सरकारले विशेष ध्यान दिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले तोकिएको जिम्मेवारी पूरा नगर्नेमाथि कारबाही गरिने बताए । रासस

No comments:

Post a Comment