Wednesday, October 7, 2015
ओलीका दूत चौधरी पनि असफल
काठमाडौं, २१ असोज । नेपालमा संघीयता सहितको लोकतान्त्रिक संविधान जारी भएपछि भारतले अन्तिममा आएर विहारको चुनावको सुरक्षाको कारण देखाउँदै नेपालमा अघोषित नाकाबन्दी गरिरहेको छ ।
जसका कारण इन्धन आपूर्तिमा सबैभन्दा बढी समस्या देखिएको समाचार यूनाइटेड पोष्ट साप्ताहिकले छापेको छ । भारतसँग छलफल गरी इन्धन आपूर्तिलाई सहज बनाउन नेपाली राजदूत दिपकुमार उपाध्याय त पूर्ण रुपमा असफल भइसकेका छन् ।
उनी असफल भएपछि चीनबाट इन्धन आपूर्ति गर्न सकिन्छ भन्दै बोल्न समेत पछि परेका छैनन् । राजदूत उपाध्यायले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकार र भारतीय जनता पार्टीसमक्ष जति छलफल गरे पनि भारतले टेरपुच्छर समेत लगाएको छैन ।
राजदूत उपाध्याय असफल भएपछि भावी प्रधानमन्त्रीको चर्चा पाएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले व्यापारी विनोद चौधरीलाई दूत बनाएर वार्ता गर्न पठाए ।
चौधरी यतिखेर कहाँ के गरिरहेका छन् कसैलाई थाहा छैन । उनी भारत गएर छलफल गरेपछि नाकावन्दी खुल्यो भन्दै नेपालका दैनिक अखबारहरुले समेत समाचार बनाए ।
उनले नेपाली सञ्चारमाध्यमलाई त्यस्तै जानकारी गराएका थिए । तर, अहिलेसम्म समस्या जस्ताको तस्तै छ । मोदीसँग निकै निकट मानिएका चौधरी पनि असफल भएपछि ओलीले अब कसलाई दूत बनाएर पठाउने हुन् त्यो भने उनैलाई थाहा होला ।
सरकारको दूत भनेको राजदूत नै हो । र भारतमा उपाध्याय राजदूत छन् । यदि सरकारको दूत भएर चौधरी भारतमा छलफल गर्न गएको भए समस्याको समाधान भइसक्ने एक कुटनीतिज्ञले बताए ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment