Thursday, October 1, 2015
ठूला उद्योग बन्द हुन थाले
पोखरा- इन्धन र कच्चा पदार्थ अभावले पोखरा औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योग थला परेका छन्। केही ठूला उद्योग बन्दसमेत भएका छन्। २४ सै घन्टा चल्ने कतिपय ठूला उद्योग आधा समय मात्र चल्न थालेका छन्। उत्पादन घटेको छ। उत्पादित वस्तु बजार पठाउन सकिएको छैन। औद्योगिक क्षेत्रभित्र सञ्चालित ठूलामध्येको पोखरा नुडल्स मंगलबार दिउँसोदेखि बन्द भएको छ। २४ सै घन्टा चल्ने रम्भा जनरल इन्डस्ट्री अहिले आधा दिनमात्रै चलाइएको छ। भारतले नाकाबन्दी लगाएपछि इन्धन अभावले उद्योग बन्द गर्ने र आधा समय चलाउन थालिएको व्यवसायीको भनाइ छ।
मंगलबार दिउँसोदेखि बन्द पोखरा नुडल्सले इन्धन र कच्चा पदार्थ अभाव भएको जनाएको छ। पोखरा नुडल्सका कार्यकारी निर्देशक बाबुराम पन्तले मंगलबार दिउँसो ४ बजेदेखि उद्योग पूर्ण रुपमा बन्द गरेको जानकारी दिए। उत्पादन गर्न चाहिने कच्चा पदार्थ नभएको र बिजुली नहुँदा उद्योग चलाउन आवश्यक पर्ने इन्धन पनि सकिएको उनले बताए। उद्योग चलाएको २२ वर्षमा कच्चा पदार्थ अभावमा पहिलोपटक बन्द भएको उनले बताए।
उनका अनुसार उद्योगले दिनमा ९ हजार कार्टुन (करिब ३५ लाख रुपैयाँ मूल्यको) चाउचाउ उत्पादन गर्थ्यो। 'डिजल, मैदा, पाम आयल, टेस्टिङ पाउडर लगायत कच्चा पदार्थ सकियो अनि बन्द गर्नुको विकल्प रहेन,' उनले भने, 'मैदा र पाम आयलभन्दा पनि इन्धन अभाव भयो। टेस्टिङ पाउडर भारतमै अड्कियो। मैदा र पाम आयल स्वदेशि भित्रैबाट झिकाउन सकिन्थ्यो। तर इन्धन भएन।'
उनका अनुसार चाउचाउ उद्योगमा ४ सय ५० जनाले काम गर्थे। ती सबैलाई अर्काे सूचना नभएसम्मका लागि बिदा दिइएको उनले बताए।
पन्तका अनुसार उद्योगलाई सबैभन्दा बढी समस्या इन्धनको छ। स्टक कच्चा पदार्थबाट उत्पादन गर्न पनि इन्धन नभएको उनले बताए। रम्बा, जोजो, लिडर, तारा, बोनस, समय लगायत चाउचाउ उत्पादन गर्ने यो उद्योगलाई दैनिक ४ सय लिटर डिजल चाहिन्छ। लोडसेडिङले गर्दा इन्धनको भरमा उद्योग चल्दै आएको थियो। यसमा दैनिक ६ हजार लिटर पाम आयल र ४ सय बोरा मैदा खपत हुन्छ। ती सबै कच्चा पदार्थ अभाव भएको उनले बताए। उत्पादित सामानसमेत इन्धन अभावमा बजार पठाउन नसकेको उनले बताए।
२४सै घन्टा बिजुली नहुने अवस्थामा इन्धन अभाव थपिएपछि उद्योगहरु चल्न नसक्ने अवस्थामा पुगेका हुन्। 'उत्पादन आधा घटेको छ,' रम्भा जनरलका निर्देशक श्रीराम पाण्डेले भने, 'उत्पादन बाहिर पठाउन सकिएको छैन।' कच्चा पदार्थ ल्याउन र भएको उत्पादन बजार पठाउन समस्या भएको उनले बताए। 'सबैभन्दा धेरै सामान बिक्री हुने दसैंकै बेला हो, यही बेला समस्या आयो,' पाण्डेले भने।
पोखरा औद्योगिक क्षेत्रमा ७० उद्योग छन्। ती सबैलाई समस्या भएको औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष चन्द्रबहादुर राजभण्डारीले बताए। अधिकांशले एक महिनादेखि नै कच्चा पदार्थ ल्याउन नसकेको जानकारी उनले दिए। 'बाटोमा अवरोध छ, सामान बोकेर गाडी आउन सक्ने अवस्थै भएन,' उनले भने, 'झन् देशबाहिरबाट ल्याउनुपर्ने सामान त आएकै छैन।' पाम आयलदेखि उत्पादनका र्याापरसम्म उद्योगले विदेशबाट आयात गर्छन्।
'औद्योगिक क्षेत्रबाट दैनिक २०–२२ वटा गाडी सामान बोकेर बजार निस्कन्थे,' यातायात व्यवसायी राष्ट्रिय महासंघका क्षेत्रीय संयोजक धर्मराज अधिकारीले भने, 'अहिले सुनसान छ। एउटा पनि गाडी बाहिरिन सकेको छैन।' पेट्रोल र डिजेल अभावले मालबाहक गाडी चल्न नसकेको उनले जानकारी दिए। अझै केही दिन इन्धन अभाव भइरहे उद्योग–धन्दा बन्दै गर्नुपर्ने अवस्था आउने राजभण्डारीले बताए। 'इन्धनसँगै कच्चा पदार्थसमेत नहुने भएकाले उद्योग बन्द गर्नुको विकल्प हुँदैन,' उनले भने, 'सरकारी तवरबाटै समस्या समाधान नभएसम्म हामीले केही गर्न सक्दैनौं।'
आइतबारमात्रै आयाल निगमको पोखरास्थित गगनगौंडा डिपोले केही पेट्रोल र डिजेल वितरण गरेको थियो। तर, अब एक दिनलाई भन्दा बढी मौज्दात नरहेको डिपो प्रमुख मनोज ठाकुरले बताए। डिपोसँग ३ लाख ५० हजार लिटर पेट्रोल र २२ लाख लिटर डिजेल भण्डारण क्षमता छ। गण्डकी र धौलागिरी क्षेत्रमा दैनिक ८० हजार लिटर पेट्रोल र १ लाख ६० हजार लिटर डिजेल खपत हुँदै आएको जानकारी ठाकुरले जानकारी दिए। ९ दिनयता रक्सौलबाट तेल रोकिएकाले भण्डार रित्तिँदै गएको उनले बताए। उद्योगीहरु महिना दिनसम्मलाई पुग्ने इन्धन भण्डारण गर्ने क्षमता बढाउनुपर्ने आवश्यकता औंल्याउँछन्। 'अब शिक्षा लिएर इन्धन भण्डारण क्षमता बढाउन सरकारले ध्यान दिनुपर्छ,' राजभण्डारीले भने।
इन्धन अभावले निर्माण व्यवसाय पनि ठप्प हुन थालेको फास्ट ट्र्याक कन्स्ट्रक्सन एन्ड बिल्डर्सका हिक्मत कार्कीले बताए। हेभी उपकरण चलाएर निर्माण गर्नुपर्ने तर, इन्धन नभएकाले चलाउन नपाएको उनले सुनाए। उद्योग–धन्दासँगै पोखराका होटल रेस्टुरेन्टले पनि इन्धन अभावको समस्या झेलिरहेका छन्।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment