Thursday, October 1, 2015

केन्द्रीय प्रसारण लाइनमा २२ मेगावाट विद्युत् थपियो, लोडसेडिङ घट्ने

काठमाडौँ, १४ असोज । नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा २२ मेगावाट विद्युत् जोडिने भएको छ । गैरआवासीय नेपाली र सानिमा माई जलविद्युत् कम्पनीले निर्माण गरेको सानिमा माई जलविद्युत् आयोजना शुक्रबार बिहानदेखि औपचारिक रुपमा केन्द्रीय प्रसारण लाइनमा जोडिने छ । प्राधिकरणले इलामको गोदाकदेखि झापाको दमकसम्म निर्माण भएको १३२ किलोभोल्ट क्षमताको प्रसारण लाइनमा विहीबार विद्युत् प्रवाहको परीक्षण गरिएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत मुकेशराज काफ्लेलगायतको टोलीले परीक्षण प्रवाहको निरीक्षण गरेको थियो । इलामको चिसापानीमा निर्मित उक्त आयोजनाको बिजुली काबेली कोरिडोरअन्तर्गत गोदाकदेखि दमकसम्म निर्माण भएको १३२ केभिए क्षमताको प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारणमा जोडिएको हो । प्रसारण लाइन निर्माण गर्ने सम्झौता प्राधिकरण र आयोजनाबीच भएको थियो । तर निर्धारित समयमा प्रसारण लाइन निर्माण गर्न नसक्दा समस्या पैदा भएको थियो । झापामा केही टावर निर्माण गर्न लामो समय लागेका कारण विद्युत् जोड्न समय लागेको हो । गत माघमै निर्माण भए पनि प्रसारण लाइनको अभावमा पूर्ण क्षमतमा विद्युत् उत्पादन गर्न नसकिएको आयोजनाका प्रमुख कार्यकारी अधिकृत डा.सुवर्णदास श्रेष्ठले जानकारी दिए । ‘‘प्रसारण लाइन पूर्णरुपमा परीक्षण गरिसकिएको छ, विहीबार अबेरसम्म वा शुक्रबार बिहानसम्म नेपालको केन्द्रीय प्रसारण लाइनमा २२ मेगावाट विद्युत् थप हुनेछ’’ श्रेष्ठले भने । गत माघदेखि गोदाकमा रहेको प्राधिकरणको सवस्टेसनमा चार मेगावाट मात्रै जोडिए पनि प्रसारण लाइन निर्माण सम्पन्न भएपछि पूरै विद्युत् जोड्न सकिएको हो । तीन अर्ब १० करोड रुपैयाँ लागतमा आयोजना निर्माण पूरा भएको सो आयोजना निजी क्षेत्रले निर्माण गरेको ठूला आयोजनामध्ये एक हो । माई हाइड्रोकै सहायक कम्पनीका रुपमा माई क्यासकेड आयोजनाको समेत निर्माण पूरा भइसकेको छ । सात मेगावाट क्षमताको उक्त आयोजनाबाट अब करिब २० दिनभित्र परीक्षण उत्पादन सुरु हुनेछ । सो आयोजनाको लागत रु एक अर्ब २५ करोड रहेको छ । माई क्यासकेडको समेत बिजुली प्रसारण लाइनमा जोड्न सकिए केन्द्रीय प्रसारण लाइनमा २९ मेगावाट विद्युत् जोडिने छ । मुलुक चरम ऊर्जा सङ्कटमा रहेको बेला नदी प्रवाहमा आधारित भए पनि ती आयोजनाले केही मात्रामा भए पनि राहत प्रदान गर्ने विश्वास लिइएको श्रेष्ठको भनाइ छ । नेपाल अघोषित नाकाबन्दीको मारमा परिरहेको बेला सानै भए पनि आफूहरुले सहयोग गरेको उल्लेख गर्दै श्रेष्ठले अन्य आयोजना पनि समयमै पूरा गर्नुपर्ने र नेपाललाई स्वाधीन राष्ट्रका रुपमा संस्थागत गर्नुपर्ने बताए । रासस

No comments:

Post a Comment