Sunday, September 27, 2015
नाकाबन्दीबाट सिमेन्ट उद्योग प्रभावित
काठमाडौं- नेपाल सिमेन्ट उत्पादक संघले विगत ५४ दिनदेखि तराइ मधेसमा भएको आन्दोलनले उद्योग धराशयी हुन लागेको भन्दै सरकार तथा आन्दोलनरत सबै पक्षलाई गम्भीर हुन आग्रह गरेको छ। देशका अधिकांश उद्योगहरु तराई मधेश क्षेत्रमा रहेको र स्थापित क्षेत्रको विकास, विस्तारका साथै रोजगारीमा समेत यी उद्योगहरुले दिएको योगदानको कदर गरी उद्योग कलकारखाना नै बन्द गर्ने गराउने किसिमका सम्पूर्ण कार्यहरु अबिलम्ब रोकी वार्ताका सहज वातावरण बनाई कच्चा पदार्थको आपूर्ति र उद्योग सञ्चालनमा अवरोध नगर्न संघले अनुरोध गरेको छ।
आइतबार विज्ञप्ति जारी गर्दे संघले विगत ४५ दिनदेखि तराई क्षेत्रमा भइरहेको राजनीतिक सामाजिक आन्दोलनले गर्दा मुलुकका उद्योग कलकारखानाका साथै यातायात लगायतका क्षेत्रहरु गम्भिर संकटमा पर्न गएको बताएको छ।
आन्दोलनबाट उद्योगहरुले आफ्नो उत्पादन बिक्री वितरण गर्न नसक्दा उद्योगहरुको आर्थिक अवस्था धराशयी हुन पुगेको छ भन्दै संघले यसकारण बैंकको साँवा ब्याज, कर तथा महशुललगायत कर्मचारीहरुको तलब भत्ता आदि तिर्न बुझाउन नसक्ने अवस्थामा उद्योगहरु पुगेको बताएको छ।
नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुवराज थापाका अनुसार अवका केही दिनमा नै समस्या नसुल्झेमा यसले विकराल आर्थिक संकट निम्त्याउने हुनाले यस्तो अवस्थाको सिर्जना हुन नदिनका लागी सम्बन्धित सम्पूर्ण प्रमुख राजनीतिक दलहरुले अविलम्ब निकास दिई स्वदेशी उद्योग, कलकारखानाहरुको संरक्षण सम्बर्द्धन गर्न संघले अनुरोध गरेको छ।
नेपालमा सिमेन्ट उद्योग स्थापना गरी देशलाई विकास निर्माणमा आत्मनिर्भर गराउने तर्फ अग्रसर रही आर्थिक विकासका मेरुदण्डको रुपमा स्थापना भएका उद्योगहरु विगतको महाभूकम्पका कारण र हालको राजनीतिक संकट, बन्द, हडताल आदिका कारण ६ महिनादेखि पूर्ण रुपमा संचालन हुन नसक्दा उद्योगहरु संकटग्रस्त अवस्थामा पुगिसकेको जानकारी पनि संघले दिएको छ।
विभिन्न कारणहरुले गर्दा विगत ६ महिनादेखि सिमेन्ट उद्योगहरुको सञ्चालनमा आएको वाधा व्यवधानका कारण उद्योगहरुले तिर्ने कर महशुलमा नेपाल सरकारले पुनरावलोकन गरी सहुलियत छुट दिनका लागी समेत संघले सरकार समक्ष अनुरोध गरेको छ।
थापाका अनुसार मुलुकको हितलाई सर्वोपरी राखी अहिलेको संकटबाट निकास दिनका लागी आन्दोलनरत दल र तत्काल वार्ताको वातावरण बनाउन सरकार र मुख्य राजनीतिक दलहरु जुट्दै अहिलेको विरोध र असन्तुष्टि संवादको माध्यमबाट समाधान गरी उद्योग कलकारखाना निर्वाध रुपमा सञ्चालन गर्न दिनका लागि सम्बन्धित सबै पक्ष गम्भीर हुनु आवश्यक भएको विज्ञप्तिमा छ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment