Friday, September 25, 2015

सरकारले भारतीय राजदूतलाई सोध्यो-सीमामा अवरोध किन ?

८ असोज, काठमाडौं । सरकारले नेपाल आउने सीमामा नेपाली सवारी आवागमन रोकेकोमा भारतीय राजदूत रणजीत रायसँग स्पष्टिकरण लिएको छ । कार्यबाहक परराष्ट्रमन्त्री खगराज अधिकारीले राजदूत रायलाई सिंहदरवारस्थित मन्त्रालयमै बोलाएर सीमामा नेपाली सवारी साधन रोकेको विषयमा जानकारी लिएका हुन् । कार्यबाहक परराष्ट्रमन्त्री अधिकारीले सीमामा देखिएको अवरोध नियोजित देखिएको बताएका छन् । परराष्ट्रमन्त्री महेन्द्र पाण्डे राष्ट्रसंघ महासभामा सहभागी हुन गएकाले स्वास्थ्य मन्त्री अधिकारीले परराष्ट्रमन्त्रीको कार्यभार पनि सम्हालेका छन् । तर, राजदूत रायले भने सीमामा भारतको कुनै अवरोध नभएको र आन्दोलनका कारण अवरोध आएको जवाफ दिएको बताइएको छ । त्यसअघि भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गरेर नेपाली आन्दोलनकारीले सीमा क्षेत्रमा अवरोध पुर्‍याइरहेको बताएको थियो । नेपालमा जारी मधेस आन्दोलनलाई लक्षित गर्दै भारतले राजनीतिक तवरबाट समस्या सुल्झाउन फेरि सल्लाह दिएको छ । ‘नेपालको नेतृत्वले अहिलेको तनावपूर्ण अवस्थाका कारणहलाई प्रभावकारी र जिम्मेवार ढंगले सम्वोधन गर्नुपर्छ,’ विज्ञप्तिले भनिएको छ, ‘मतभेदका मुद्दाहरुलाई फराकिलो स्वामित्व र स्वीकार्यताको माध्यमले समाधान गर्नुपर्छ ।’

No comments:

Post a Comment