Friday, September 25, 2015
धरानमा धनकुटे रोडको पुल भत्कियो (धरानमा धनकुटे रोडको पुल भत्कियो)
८ असोज, सुनसरी । धरानस्थित कोशी राजमार्गबाट बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ जाने धनकुटे रोडमा रहेको पुल भत्किँदा आवात-जावत अवरुद्ध बनेको छ ।
पुल भत्किएर सडक अवरुद्ध भएपछि पूर्वका विभिन्न ठाउँबाट विरामी लिएर विपी प्रतिष्ठान आउने एम्बुलेन्सलाई बढी समस्या भएको छ ।
प्रतिष्ठान जाने एम्बुलेन्सलाई पायक पर्ने धनकुटे रोड अवरुद्ध भएपछि एम्बुलेन्स र अन्य यातायातका साधन भानुचोक वा अन्य सडकबाट घुमेर प्रतिष्ठानतर्फ गइरहेका छन् ।
विहीबार राती पुल भत्किँदा ठूलो आवाज सुनिएको थियो । पुल झर्दा स्थानीयहरु भूकम्प आएको आशंकाले त्रसित बनेका थिए ।
खोलाले पुल छेउँको भाग कटान गर्दै गएपछि केही वर्षदेखि स्थानीयले धरान उपमहानगरपालिकालाई गुहार्दै आएका थिए । तर समयमै मर्मत सम्भारमा ध्यान नदिँदा विहीबार दिनभरको वर्षाले पुल भत्किएपछि धरान ८ र १९ को सडक सम्बन्ध टुटेको छ ।
२०५१ सालमा निर्माण भएको ३२ फुट लम्बाइको पुललाई सडक डिभिजन कार्यालय र धरान उपमहानगरपालिकाले मर्मतका नाममा झारा टारेर हेलचेक्र्याई गरेकाले पुल भत्किएको स्थानीय विजय अछामीले आरोप लगाए ।
बस्ती पनि जोखिममा
पुलसँगै छेउँछाउँका सुकुम्बासी बस्तीसमेत जोखिममा परेका छन् । सोनाम बस्ती, घुम्ती टोल, गुम्बा मार्गका ३ सय घर जोखिममा परेका हुन् ।
धरान उपमहानगरपालिकाले भने विगतदेखि यो सडकको मर्मतसम्भार सडक डिभिजन कार्यालय गर्दै आएको भएपनि मर्मतका लागि उपमहानगरपालिकाले ८ लाख खर्च गरिसकेको इन्जिनियर सुरज श्रेष्ठले बताए ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment