Friday, September 25, 2015

भैरहवामा बम विस्फोट, स्थानीय त्रसित

८ असोज, भैरहवा । रुपन्देहीको भैरहवामा अज्ञात समूहले बम विस्फोट गराएको छ । जिल्लाको हाटीबनगाई ५ दुर्गानगर टोलस्थित (लव गार्डेन ताल र घाघरा नदीबीचको चौरमा) खुल्ला स्थानमा बम विस्फोट भएको प्रहरीले जनाएको छ । खुल्ला स्थान बम विस्फोट भएको कारण कुनै किसिमको क्षति भएको छैन । गएराति करिब १० बजेको समयमा बम विस्फोट भएको ठूलो आवाज भैरहवा शहरभरि सुनिएको थियो । विष्फोटको आवाजले स्थानीय त्रसित भएका छन् । प्रशासनले बम बिस्फोट भएको स्थान रातिदेखि नै खोजीकार्य जारी राखेपनि बिहानको समयमा मात्र फेला पारेको थियो । बम विस्फोट भएको स्थान फेला परेपछि निरीक्षणका लागि सुरक्षा निकायका उच्च अधिकारीहरु विस्फोटक पदार्थका प्राविधिक टोलीसहित घटनास्थलमा पुगेका थिए । बमलाई जुटको बोरामा बारुद हालेर र मोटरसाइकलको टायर बाँधेर माथिबाट डिजल छर्किएर विस्फोट गराइएको बताइएको छ । उक्त किसिमका सामाग्रीहरु मिश्रति गरेर विस्फोट गराइएको बमबाट ठूलो अवाज आउने तर क्षति भने कम हुने सुरक्षाकर्मीहरु बताउँछन् । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले आमजनतालाई त्रसित बनाउनका लागि बम विस्फोट गराइएको बताउँदै बम विस्फोट गराउने व्यक्ति/समूहको खोजीकार्य जारी रहेको बताए ।

No comments:

Post a Comment