Sunday, September 27, 2015

नाकाबन्दी भारतले होइन, हामीले गरेका हौं

उपेन्द्र यादव, अध्यक्ष, संघीय समाजवादी फोरम तराई–मधेस ठप्प भएको ४५ दिन नाघिसक्यो, कहिले हुन्छ वार्ता? सरकारले वातावरण बनाउनेबित्तिकै वार्तामा जान तयार छौं। छोरीको विवाहको निम्तोजस्तो गरी बोलाएर हुँदैन। वार्ताको वातावरण बनाउन सरकारलाई लिखित र मौखिक आग्रह गरिसकेका छौं। सरकारले संयुक्त मधेसी मोर्चा, थरुहट तथा आदिवासी–जनजातिसित विगतमा गरेका सम्झौता कार्यान्वयनको प्रतिबद्धता र आफ्नै देशका निहत्था नागरिकमाथि दमन गर्ने काम रोक्नेबित्तिकै वार्ताको वातावरण बन्छ। राज्यआंतक र वार्ता सँगसँगै चल्दैन। वार्ताको कुरा कहाँ अड्केको छ त? – माओवादीले जनयुद्ध गरेका बेला पनि सरकारले युद्धविराम गरेपछि उनीहरु वार्तामा आएका हुन्। कांग्रेस पनि हतियार उठाउँदा र जहाज अपहरण गर्दा सजिलै वार्तामा गएको होइन। ०६२/६२ को आन्दोलनपछि राजासँग पनि सोझै वार्ता भएको थिएन। न्यायोचित माग सम्बोधन हुनुपर्छ। वार्ताको वातावरण सरकारले बनाउनुपर्छ। सबैलाई पच्ने र सबैको समान अधिकार पाउने वातावरण बन्यो भने चार दलका ठूला नेताले किन टाउको दुखाउनु? प्रधानमन्त्रीसित कुरा हुँदा म त तयार नै छु नि, एमाले अध्यक्ष ओलीजी मान्नुहुन्न भन्नुहुन्छ। ओलीजीसित कुरा गर्दा प्रधानमन्त्रीजी कुरै सुन्न चाहनुहुन्न भन्नुहुन्छ। पासिङ द बल गरेर वार्ताको वातावरण बन्दैन। हामीलाई अल्मलाउने काम मात्र हुन्छ। वार्ताकै लागि प्रधानमन्त्रीले अमेरिका भ्रमण रद्द गरेका छन् नि! – यो झुठ हो। भ्रम फिँजाइएको छ। प्रधानमन्त्रीको अमेरिका भ्रमण हामीसित वार्ताका लागि रोकिएको होइन। आन्दोलन क्रममा भएको मानवअधिकार उल्लंघनका घटनाप्रति विदेशी गम्भीर छन्। बच्चालाई गोली हानिएको छ। महिलालाई गोली हानेर मारिएको छ। निहत्था आन्दोलनकारीमाथि युद्धमा प्रयोग हुने गोली चलाइएको छ। विदेशीले यो सबको जानकारी राखेका छन्। एयरपोर्टदेखि युएन हाउस र युएन हाउसदेखि बस्ने होटलसम्म आन्दोलन क्रममा सरकारले गरेको मानवअधिकार उल्लंघनका घटनाको विरोधमा कालोझन्डा देखाउने र विरोध गर्ने स्थिति आएपछि प्रधानमन्त्री अमेरिका नगएका हुन्। तपाईंहरुको खास माग के हो? भारतले प्रस्तुत गरेको भनिएको सातबुँदे प्रस्ताव नै तपाइँहरुको माग हो? – त्यो ७ बुँदे प्रस्ताव हाम्रो होइन। हामीले कुनै प्रस्ताव नै प्रस्तुत गरेका छैनौँ। वार्ताको टेबलमा बसेपछि हाम्रो प्रस्ताव आउँछ। त्यो कति बुँदे हुन्छ, त्यतिबेलै थाहा हुन्छ। जहाँसम्म भारतको प्रस्ताव भनिएको सात बुँदेमा हाम्रा केही माग मिल्छन्, केही मिल्दैनन्। आन्दोलनले भारत र चीनसितको सम्बन्धमा असर परेको देखिन्छ नि? – भारत र चीन दुवै हाम्रा मित्रराष्ट्र हुन्। दुवै देशको सम्बन्ध नेपालका लागि महत्वपूर्ण हुन्छ। केही ठाउँमा चीनको राष्ट्रिय झन्डा जलाइएको र भारतका प्रधानमन्त्रीको पुतला दहन गरेको खबर आएको छ। यो दुवै काम गलत हो। यो कार्य घृणित र निन्दनीय छ। जसले गरे पनि यस्ता गतिविधिले कसैको हित हुँदैन। हामीले यो घटनाको निन्दा गरिसकेका छौं। तपाईंहरुले भन्सार नाका ठप्प पार्ने निर्णय गर्नेबित्तिकै भारतले अघोषित नाकाबन्दी नै गरिदियो त? – राज्यलाई असहयोग र अवरोध गर्न भन्सार क्षेत्रमा हामीले नाकाबन्दी गरेका हौं, भारतले होइन। संयुक्त मधेसी मोर्चाले निर्णय नै गरेर नाकाबन्दी गरेको हो। यो असहयोग र अभद्र अवज्ञा आन्दोलन हो। राज्यले नसुनेपछि हामी नाकाबन्दी गर्न बाध्य भयौं। भन्सारसँगै हामी राजमार्ग अवरुद्ध पार्छौं। सरकारी कार्यालयको काम प्रभावित बनाउँछौं। सरकारलाई कर नतिर्न जनतालाई भन्नेछौं। हाम्रो कुराको सुनुवाइ नगरे सरकारलाई असहयोग गरिरहन्छौं। सामान त पारि (भारत) बाटै रोकिएको छ नि! – बोर्डरपारि (भारत) बाट हेर्नुभन्दा वारि (नेपाल) बाट हेर्दा राम्रो। यो नेपालको समस्या हो। बोर्डरपारि समाधान खोजेर हुँदैन। सरकारले सिर्जना गरेको समस्याबाट उत्पन्न भएको जटिलता हो। मधेसको समस्या नयाँ दिल्लीले समाधान गर्छ भन्नु आन्दोलनलाई अपव्याख्या गर्न खोज्नु हो। यो हाम्रो समस्या हो। हामीले नै समाधान गर्नुपर्छ, अरूले गरेर हुँदैन। विभेदको अन्त्य गर्ने राज्यले हो। विभेद अन्त्य नगर्दा आन्दोलन अघि बढ्छ। छिमेकीले त चासो देखाइहाल्छ नि! समस्या हल गर, सबैलाई मिलाएर संविधान बनाऊ भन्नु नराम्रो हो र? विजयकुमार गच्छदार, जेपी गुप्ता र मातृका यादवलाई पनि समेट्ने प्रयास भइरहेको हो? – आन्दोलनरत सबै परिवर्तनकारी शक्तिबीच सहकार्य हुन्छ, सहकार्य गरेरै अगाडि बढ्ने हाम्रो नीति हो। कुनै व्यक्ति र पार्टीको नाम नलिऊँ। मुद्दा मिल्नेसँग सहकार्य हुन्छ तर आज आन्दोलनमा आउने र भरे नै बालुवाटार गएर मन्त्रालयको बार्गेनिङ गर्नेसित सहकार्य हुँदैन। संविधानप्रति असन्तुष्ट सबै शक्तिलाई एकताबद्ध गरेर आन्दोलन अगाडि बढ्छ।

No comments:

Post a Comment