Saturday, September 26, 2015
एक सिलिन्डर ग्यासको पाँच हजार
भक्तपुर, १० असोज । भारतको अघोषित नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको अभाव भइरहेका बेला यहाँ ग्यासमा व्यापक कालोबजारी भएको छ ।
भक्तपुरका ग्यास डिपो सञ्चालकले अवैध रुपमा ग्यास लुकाएर कालोबजारी गर्दा पनि जिल्ला प्रशासन कार्यालयले अनुगमन गरेको छैन । व्यापारीले एक साताअघिदेखि नै ग्यास लुकाएर कालोबजारी गर्न थालेको उपभोक्ताले गुनासो गरेका छन् ।
मध्यपुरथिमि नगरपालिकाका रामेश्वरलाल श्रेष्ठले थिमिमा
ग्यास बिक्रेताले एक सिलिन्डर ग्यासको २५ सय रुपैयाँ लिएको आरोप लगाउनुभयो ।
ग्यास लिएर आउँदै गरेका श्रेष्ठले सुरुमा छैन भने पनि “दुई हजार पाँच सय रुपैयाँ दिएमा मगाइदिन्छु” भन्दै अन्यत्रबाट मगाइदिएको बताउनुभयो । ग्यास बिक्रेताले ग्यास डिपोभित्र नराखेर अन्यत्रै गोदाम गरेर राखेको उपभोक्ताको आरोप छ ।
बालकोट, नयाँ बस्तीका रामशङ्कर पाण्डेले ग्यास नपाएपछि सिलिन्डरसहित ग्यास किन्नुपरेको बताउनुभयो । शनिबार साँझ ग्यास पसलबाट एक सिलिन्डर ग्यासको चार हजार पाँच सय रुपैयाँ तिरेर ल्याएको जानकारी उहाँले दिनुभयो ।
उहाँले भन्नुभयो—“दसैँ आउन लाग्यो, ग्यास सकिएला भनेर जति भन्यो त्यति नै तिरेर ल्याउनुपरेको छ, ग्यास माग्दा छैन भन्छन्, बढी पैसा दिन्छु भने बाहिरबाट मगाइदिन्छु, राति आउनू भन्छन्, खै सङ्कटको बेलामा कसले रोक्ने कालोबजारी ?”
कमलविनायकका एक ग्यास बिक्रेताले रु एक हजार चार सय पर्ने ग्यासलाई रु दुई हजार सात सयमा बिक्री गरेका छन् ।
शनिबार साँझ मोटरसाइकलमा ग्यास लाँदै गरेका कमलविनायक पाइपलाइनका सन्तोष न्यौपानेले अरू बेलामा एक हजार चार सय २० रुपैयाँमा ल्याउने गरेको ग्यास यस पटक त्यही पसलबाट रु दुई हजार सात सय तिर्नुपरेको बताउनुभयो ।
ग्यासमा खुला कालोबजारी भए पनि जिल्ला प्रशासन कार्यालयले बजार अनुगमनमा चासो नदिएको उपभोक्ताको गुनासो छ ।
जिप्रकाले भने लगातार बिदाको दिन परेकाले अनुगमन गर्न नसकेको स्विकारेको छ । सरकारले नै अनुगमन गर्न अधिकृतको टोली खटाएकाले सोही टोलीले अनुगमनमा चासो दिनुपर्ने जिप्रकाको भनाइ छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment