Friday, September 25, 2015

नेपालका सबै दल र नेता भारतका मित्र : ओली 'मधेसको आन्दोलनले मधेसकै जनतालाई दुख दियो'

८ असोज, काठमाडौं । केही दिनयता भारतको भूमिकामाथि खरो टिप्पणी गरिरहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शुक्रबार केही नरमरुपमा प्रस्तुत भएका छन् । अध्यक्ष ओलीले नेपालका सबै दल र नेताहरु भारतको मित्र रहेको भन्दै ओलीले यो कुरा भारतले बुझ्नुपर्ने बताए । उनले केही व्यक्ति र समूहको खुद्रा स्वार्थका लागि नेपाल-भारत सम्बन्ध बिगार्ने प्रयत्न भैरहेको बताए । एमाले सम्बद्ध राष्ट्रिय पर्यटन व्यवसायी संगठनको प्रथम महाधिवेशनलाई शुक्रबार राजधानीमा सम्वोधन गर्दै ओलीले भने, ‘केही समूह आफ्ना खुद्रा स्वार्थका लागि भारतसँगको सम्वन्ध बिगार्न खोजिरहेका छन् । तर, नेपाल-भारत सम्बन्ध त्यस्तो कमजोर छैन । नेपालका सबै दल र नेता भारतका मित्र छन् । कसैले पनि भारतको अहित रुचाउँदैनन्, यो कुरा भारतले बुझ्छ र बुझ्नुपर्छ ।’ भृकुटीमण्डपको कार्यक्रमलाई सम्बोधन गर्नुपूर्व ओलीसँग भारतीय राजदूत रञ्जित रायले लामो कुराकानी गरेका थिए । मधेसको आन्दोलनले मधेसकै जनतालाई दुःख ओलीले अहिले तराई मधेसमा भैरहेको आन्दोलनलाई केही व्यक्तिले हिंसात्मक बनाइरहेको धारणा राखे । मधेसी जनताका लागि आन्दोलन गरेका छौं भन्नेहरुले मधेसी जनतालाई नै दुःख दिइरहेको ओलीले आरोप लगाए । ‘मधेसी जनताका लागि आन्दोलन गर्ने भन्ने अनि नाकाबन्दी गर्ने, चुल्हो बन्द गर्ने यो कहाँको जनताको आन्दोलन हो ? यो हिंसा हो,’ ओलीले भने । संविधानसभा माछाको व्यापारजस्तो नभएको भन्दै उनले यसको आफ्नै विधि र प्रक्रियाअनुसार विश्वमै उदाहरणीय संविधान जारी गरिएको बताए । ‘नेपालमा जसरी संविधान जारी भयो, विश्वमै यति धेरै जनसमर्थनमा संविधान जारी भएको छैन,’ अध्यक्ष ओलीले भने, ‘यसमा कसैले प्रश्न उठाउने कुरा हामीले स्वीकार्दैनौं ।’

No comments:

Post a Comment