Monday, September 28, 2015

नेपाली राजदूत भन्छन्, ‘मोदीले नबोल्दासम्म नाकाबन्दी खुल्दैन’

काठमाडौं, ११ असोज । भारतका लागि नेपाली भारतीय राजदूत दीपकुमार उपाध्यायले नेपालमाथि भारतले लगाएको अघोषित नाकाबन्दीले नरेन्द्र मोदीको छविमा ठूलो धक्का लागेको बताउनुभएको छ । राजदूत उपाध्यायले दुई पटकसम्म मोदीले नेपालको भ्रमण गरेको बताउँदै सुध्रिएको सम्बन्धलाई विगार्ने कार्य केही तत्वबाट भएको बताउनुभयो । ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपालमा दुई पटक भ्रमण भइसकेको छ’, उहाँले भन्नुभयो, ‘मोदीको लोकप्रियता उचाइँमा पुगेको थियो । अहिले कता गयो ?’ नेपालवाणी रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग आज (सोमबार) बिहान अन्तर्वार्ताका क्रममा राजदूत उपाध्यायले नेपालमा भारतले लगाएको नाकाबन्दीका विषयमा मोदीलाई जानकारी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मोदीजी संयुक्त राष्ट्रसंघको महासभामा हुनुहुन्छ । उहाँलाई सबै थाहा छ । यस विषयमा मोदीले ध्यान दिनुपर्छ । उहाँले नबोल्दासम्म यो समस्याको समाधान हुँदैन ।’ भारतले सुरक्षाका कारण देखाउँदै नेपालमाथि नाकाबन्दी लगाएकोमा आपत्ति जनाउनु भएका नेपाली राजदूत उपाध्याउले भन्नुभयो, ‘हाम्रो कारणले नाकाबन्दी लागेको होइन । हामी शान्ति सुरक्षा दिन सक्षम छौँ । हामीले शान्ति सुरक्षा दिन नसक्ने भएपछि मात्रै हाम्रो गल्ती हुन्थ्यो । तर हाम्रो गल्ती छैन । उतैबाट मालबाहक सवारी साधन छाडिएको छैन । रोकिएको छ ।’ भारतसँग अहिले देखिएको समस्याको निराकरण कुटनीतिक रुपमा खोज्नु पर्ने बताउनुभएका उपाध्यायले भन्नुभयो, ‘कसले अर्घेलो गर्‍यो इतिहासले खोज्नेछ । हाम्रै आफ्ना नेता र दलको पनि दोष छ ।’ उहाँले नेपाली पक्ष समस्याको समाधानका लागि इमान्दार भएर लागेको बताउनुभयो । भारतीय प्रधानमन्त्री मोदीसँग भेट गर्न नपाएको बताउनुभएका नेपाली राजदूत उपाध्यायले मोदीका दूतहरूसँग सम्पर्कमा रहेको बताउनुभयो । ‘भारतका कारण नेपालका जनताको हृदय विझ्नु हुँदैन । मोदीले नबोलेसम्म समस्याको समाधान हुँदैन ।’ त्यसै गरी नेपाली राजदूत उपाध्यायले भारतीय प्रधानमन्त्री मोदीको नेपालमा पुत्ला दहन नगर्न आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘सानो देश भए पनि हामीले चित्त ठूलो देखाऔँ । भारत, चीनको विरोध कसै गर्नु हुँदैन ।’

No comments:

Post a Comment