Monday, September 28, 2015

निजी पम्पबाट पेट्रोलको बिक्री बन्द, सरकारीबाट २:३० बजे पेट्रोल दिइँदै

काठमाडौं— नेपाल आयल निगमले निजी पम्पबाट पेट्रोलको बिक्री रोकेको छ। भारतले नाकाबन्दी लगाएसँगै पेट्रोलियम पदार्थको आपूर्ति असहज भएपछि निगमले सोमबार निर्णय गरी सेना, प्रहरी, साझा र नेसनल ट्रेडिङको पम्पबाट पेट्रोल वितरण गर्ने बताएको हो। सरकारी स्वामित्तवका त्यस्ता पम्पहरु काठमाडौंमा ११ वटा रहेका छन्। डिजेल र मट्टितेलको बिक्री वितरण भने निजी पम्पहरुबाट पनि हुनेछ। निगमले सोमबार दिउँसो २:३० बजे थानकोट स्थित डिपोबाट पेट्रोलिमय पदार्थ बजारमा पठाउन लागेको छ। यसअघि निगमले अाजैदेखि लागू हुनेगरी पेट्राेलियम पदार्थ वितरणमा कोटा प्रणाली लागू गरेको थियो। निजी सवारी साधनतर्फ प्रतिहप्ता मोटरसाइकललाई तीन लिटर तथा चारपाङ्ग्रे सवारी साधनलाई १० लिटर पेट्रोल उपलब्ध गराइने व्यवस्था मिलाइएको छ। सार्वजनिकतर्फ ट्याक्सीलाई १० लिटर, माइक्रोबसका लागि १५ लिटर, मिनीबस र स्कुलबसका लागि २० लिटर र ठूला बसका लागि पनि प्रतिहप्ता ३० लिटर इन्धन कोटा तोकिएको छ। सार्वजनिक सवारी साधनले जोर–बिजोर प्रणालीअनुसार चलेको दिन तेल भर्न पाउनेछन्। एकहप्ता यता भारतीय सीमा पारी ४०२ वटा पेट्रोलियम पदार्थ भरिएका ट्याङ्कर रोकिएका छन्।

No comments:

Post a Comment