Saturday, September 26, 2015
एउटा औँलामात्र भएका जापानी सगरमाथाको चुचुरोमा पुग्दै
हातका नौ वटा औँला गुमाएका एक जापानी पर्वतारोही सगरमाथाको चुचुरो नजिक पुगेका छन् । हिउँले खाएर हातका नौ वटा औँला गुमाएका र केवल एक औँला मात्र रहेका ३३ वर्षे जापानी आरोही नाबुकाजु कुरिकी शनिवार सगरमाथाको साउथकोल क्षेत्रमा पुगिसकेका बीबीसीले जनाएको छ ।
त्यहाँ ८ घण्टा आराम गरेर उनी आरोहणको अन्तिम स्टेपको रुपमा रहेको बाँकी दूरी पार गर्न माथि चढ्न सुरु गर्दैछन् । आरोहीहरुका अनुसार सगरमाथा आरोहणका क्रममा अन्तिम दूरी रातमा चढ्न सुरु गर्ने र बिहान झिसमिसेमै चुचुरोमा पुग्ने आरोहीहरु धेरै हुन्छन् । रातमा उचाइमा हावा पनि कम चल्ने हुनाले आरोहणका लागि सजिलो हुनुका साथै दिउसोमा तल र्झन पनि सजिलो हुन्छ ।
कुरिकी सगरमाथाको चुचुरोमा पुग्न सफल भएमा उनी गएको वैशाख १२ गतेको भुकम्पपछि सगरमाथा आरोहण गर्ने पहिलो आरोही मात्र बन्ने छैनन् एउटा औँला भएको पहिलो सगरमाथा आरोही पनि बन्नेछन् ।
पछिल्लो ६ वर्षदेखि सगरमाथा आरोहणको प्रयास गर्दै आएका कुरिकीले यसअघि ४ पटक आरोहणको असफल प्रयास गरिसकेका छन् ।
कुरिकी पछिल्लो पटक एक महिनाअघि नेपाल आएर यहाँको वातावरणसँग आफुलाई घुलमिल गराएका थिए । उनी चुनौतिपूर्ण शरद ऋतुमा सगरमाथा चढ्न आँट गर्ने एकमात्र आरोही पनि हुन् ।
उनले सगरमाथा आरोहणका क्रममा सन् १९५३मा सर एडमण्ड हिलारी र तेन्जिंग नोर्गे शेर्पाले पहिलोपटक सगरमाथा आरोहण गर्दा प्रयोग गरेको बाटो प्रयोग गरिरहेका छन् ।
पर्वतारोहण सघका अध्यक्ष आङ छिरिंग शेर्पाका अनुसार कुरिकी हिउँद महिनामा, अझ एक्लै तथा विस्तारै सगरमाथा चढ्न मन पराउँछन् । जुन आरोहणको सबैभन्दा असल तरिका हो ।
सन् २०१२ मा उनले सगरमाथा आरोहणका क्रममा ८ हजार २३० मिटर उचाइमा २ दिनसम्म हिउँको दुलोमा बिताउनुपर्दा आफ्ना हातका ९ वटा औँला हिउँले खाएर गुमाउनुपरेको थियो ।
हातका औँलाको अभावमा उनका लागि सामान्य पर्वतारोहण पनि जटिल देखिन्छ । तथापि उनी सगरमाथाको सफल आरोहणको नजिक पुगिसकेका छन् ।
नेपाल आएलगत्तै उनले रोयटर्ससँग भनेका थिए : मलाई डर लागेको छ र आत्तिएको पनि छु ।
गत वैशाखको भुकम्पका कारण सगरमाथा क्षेत्रमा समेत केही पर्वतारोहीको ज्यान गएको थियो । भुइँचालोपछि सगरमाथा आरोहणको आँट कसैले गर्न सकेका छैनन् । यदि कुरिकीको आरोहण सफल भएमा उनले किर्तिमानी त राख्ने नै छन् थिलथिलो भएको नेपालको पर्वतारोहण पर्यटनलाई व्युँर्झाउन पनि सहयोग गर्नेछन् ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment