Friday, September 25, 2015

‘व्यापारी पलायनको अवस्था सिर्जना भयो’

८ असोज, मोरङ । मोरङका मुख्यबजार सुनसान भएपछि व्यवसायीहरु पलायन हुने अवस्थामा सिर्जना भएको व्यवसायीहरुले दुःखेसो पोखेका छन् । भारतीय पक्षले नेपाल आयात गर्ने ट्याङ्कर रोक्दा व्यापारी पलायन हुने अवस्थामा आइपुगेको उद्योग संगठनले जनाएको छ । उद्योग सङ्गठन मोरङका अध्यक्ष शिवशङ्कर अग्रवालले उच्चस्तरीय पहलबाट जोगवनी नाका खुलाउन माग गरे । ‘यो समस्या हल गर्न सरकारले पहल गर्नुपर्छ’ उनले भने । जोगवनीको नाकामा संयुक्त मधेसी मोर्चाले आन्दोलन गरेर अवरोध गरे पनि चार्डपर्व नजिकिँदै जाँदा चोरबाटो हुँदै किनमेल गर्ने नेपालीको भीड बढेपछि स्वदेशी व्यापारी विस्थापित हुने अवस्था सिर्जना भएको उनले बताए । मोरङ व्यापार सङ्घका अध्यक्ष तथा सभासद् पवनकुमार सारडाले जिल्लासँग जोडिएको भारतीय सीमावर्ती बजारबाट सामान आयात नहुँदा मोरङ-सुनसरी औद्योगिक करिडोर क्षेत्रका व्यवसायी भएको बताए । विराट व्यापारसङ्घका अध्यक्ष राजजीवन अग्रवालले सरकारले उच्चस्तरीय पहलबाट सीमा नाका खुलाउन माग गरे । ‘यो त सोच्दै नसोचेको कुरा भयो अब हामी सबैलाई समस्या पर्ने भो’ उनले भने । उनले सरकारले भारतसँग चाँडो वार्ता गरी समस्या समाधान गर्नुपर्नेमा जोड दिए । सीमा क्षेत्रमा भएको प्रदर्शन तथा नाकाबन्दिका कारण नेपाल आउन पर्खेर बसेका झन्डै एक हजार बढी सवारी साधन भारतीय बजार जोगवनीमा अलपत्र परेका छन् ।

No comments:

Post a Comment