
Friday, September 25, 2015
क्रिकेटरसँगको सम्झौतामा हेरफेरको तयारी
काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान) ले खेलाडीसँगको केन्द्रीय सम्झौता पुनरावनलोकन गर्दै व्यापक हेरफेरको तयारी गरेको छ। एकवर्षे सम्झौता ६ महिनामा पुनरावलोकन गर्ने व्यवस्थाअनुसार सम्झौतामा चारजना खेलाडी थप गरिएको छ भने खेलाडीको श्रेणीमा व्यापक हेरफेर भएको छ।
राहुल विश्वकर्मा र अमृत भट्टराई सम्झौताबाट बाहिरिएका छन्। क्यानले गत जनवरीमा २२ खेलाडीलाई विभिन्न चारवटा समूहमा राखेर केन्द्रीय सम्झौता गरेको थियो। महेश क्षेत्री, सिद्धान्त लोहनी, अविनाश कर्ण र पृथु बाँस्कोटाले केन्द्रीय सम्झौतामा ठाउँ पाएका हुन्।
पुनरावलोकन गरिएअनुसार श्रेणी 'ए' मा पारस खड्का, ज्ञानेन्द्र मल्ल, वसन्त रेग्मी, शक्ति गौचन, शरद भेषावकर छन्। सोमपाल कामी एक श्रेणी बढुवा भएर 'ए' मा पुगेका छन्। समूह एमा रहेका सुवास खकुरेल 'बी'मा झरेका छन्।‘
'बी' मा सुवासबाहेक सागर पुन, अनिल मण्डल, विनोद भण्डारी, प्रदीप ऐरी र करण केसी छन्।प्रदीप एक श्रेणी र करण दुई श्रेणी बढुवा भएका हुन्। यसअघि श्रेणी 'बी' मा रहेका भुवन कार्की र नरेश बुढाऐर दुई श्रेणी घटुवा भएका छन्।
टोलीमा लामो समयदेखि नरहेको भन्दै अमृतलाई सम्झौताबाट हटाइएको हो। श्रेणी 'सी' मा जितेन्द्र मुखिया, महेश क्षेत्री, राजेश पुलामी, पृथु बाँस्कोटा र अविनाश कर्ण छन्। राजेश एक श्रेणी बढुवा भएका छन्।
सम्झौताबाट बाहिरिएका राहुल यसअघि 'सी' मा थिए। त्यस्तै 'सी' मा रहेका आरिफ शेख र मेहबुब आलम एक श्रेणी घटुवा भएका छन्। समूह 'डी' मा नरेश, भुवन, मेहबुब र आरिफसहित राजु रिजाल र राम नरेश गिरी छन्।
यसअघि 'ए' मा ६, 'बी' मा ६ , 'सी' मा ६, र 'डी' मा चार खेलाडी थिए । पुनरावलोकनपछि 'ए' मा ६, 'बी' मा ६, 'सी' मा पाँच र श्रेणी 'डी' मा सात खेलाडी छन्।
श्रेणी 'ए' ले मासिक ३५ हजार, श्रेणी 'बी'ले मासिक २५ हजार, श्रेणी 'सी' ले मासिक १० हजार र श्रेणी 'डी' ले मासिक पाँच हजार पाउँछन्। क्यानले गत जनवरीमा पहिलो पटक खेलाडीसँग केन्द्रीय सम्झौता गरेको थियो।
क्यानका कार्यवाहक महासचिव उत्तम कर्माचार्य र राष्ट्रिय टोलीका प्रशिक्षक पुबुदु दासानायकेसहितको टोलीले पुनरावलोकन गरेको जनाइएको छ। ६ महिनामा पुनरावलोकन गर्नुपर्ने भए पनि क्यानले नौ महिना बित्न लाग्दा पनि यसबारे निर्णय लिएको छैन।
थप गरिएका खेलाडीलाई कहिलेदेखि लागू हुने गरी तलब दिने र कति समयका लागि दिने भन्नेबारे पनि बोर्डले निर्णय गर्ने क्यानका एक पदाधिकारीले जानकारी दिए। यसलाई क्यान बोर्ड बैठकले पारित गर्न बाँकी रहेको छ।क्यान कार्यवाहक महासचिव कर्माचार्यले लामो समय राष्ट्रिय टोलीमा नरहेको र सम्पर्क बाहिर रहेको खेलाडीलाई सम्झौताबाट निकाल्न सकिने बताए।
एकवर्षे सम्झौता ६ महिनामा पुनरावलोकन गर्ने व्वस्थाअनुसार सम्झौतामा चारजना खेलाडी थप गरिएको छ।
नेपालको पछिल्लो सिनियर एकदिवसीय राष्ट्रिय टोली (आईसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत स्कटल्यान्डविरुद्ध खेल्दा) मा भएका खेलाडीमा पारस, ज्ञानेन्द्र, प्रदीप, अनिल, महेश, सिद्धान्त, राजेश, शरद, शक्ति, सोमपाल, अविनाश, करण , वसन्त र पृथु थिए । महेश, अविनाश र पृथुले स्कटल्यान्डविरुद्ध खेल्दै राष्ट्रिय टोलीमा पुनरागमन गरेका हुन्।
सिद्धान्तले भने त्यसअघि खेलिएको टीट्वेन्टी विश्वकप छनोटमार्फत राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए। गत जनवरीमा खेलिएको आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन दुईमा टोलीमा रहेका भुवन, आरिफ नरेश र अमृत भने त्यसयता राष्ट्रिय टोलीमा थिएनन्।
राहुल अन्तिम पटक गत टीट्वेन्टी विश्वकप खेल्दा टोलीमा थिए। रामनरेशले अन्तिम पटक नेपालका लागि एसियन गेम्समा खेलेका थिए । सोमपालको प्रदर्शन राम्रो रहेको छ भने करण पछिल्ला प्रतियोगितामा जम्न सकेका थिएनन्।
आईसीसीको सहयोग रोक्का
आईसीसीले निर्देशन नमानेको भन्दै क्यानलाई उपलब्ध गराउँदै आएको नियमित सहयोग रोक्का गरेको छ । स्रोतका अनुसार उक्त सहयोग नेपाललाई सात÷आठ महिनायता आएको छैन।
क्यानको व्यवस्थापनप्रति आईसीसीले चासो राख्दै आएको छ। कर्मचारीलाई अधिकार दिनुपर्ने, अप्रेसन म्यानेजर नियुक्त गर्नुपर्ने, समयमा वार्षिक साधारणसभा गर्नुपर्नेलगायत विषयमा आईसीसी क्यानप्रति असन्तुष्ट रहेको थियो। यसअघि आईसीसीले निर्देशन नमानेको भन्दै करिब एक वर्ष नियमित सहयोग रोक्का गरेको थियो।

Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment