Thursday, December 10, 2015
प्रभू समूहले किन्यो मुक्तिनाथ एयर माघभित्रै नयाँ अमेरिकी हेलिकप्टर ल्याउने
२४ मंसिर, काठमाडौं । सेवा क्षेत्रको व्यवसाय विस्तारमा आक्रामक देखिएको प्रभू समूहले हेलिकप्टर व्यवसायमा समेत हात हालेको छ । इच्छाबहादुर डंगोलले सन् २०१० बाट पोखरालाई आधार बनाएर सुरु गरेको मुक्तिनाथ एयरलाइन्सको ५५ प्रतिशत स्वामित्व प्रभू समूहले खरिद गरेको छ ।
मुक्तिनाथ एयरलाइन्स कम्पनी आफूहरुले किनेको प्रभू समूहका अध्यक्ष देवीप्रकाश भट्टचनले अनलाइनखबरलाई जानकारी दिए । कम्पनीको कूल पुँजी १५ करोड रुपैयाँ छ ।
‘बन्द हुन लागेको थियो हामीले रेस्क्यू गरेका हौं,’ प्रभू समूहका अध्यक्ष भट्टचनले भने । ५५ प्रतिशत स्वामित्व खरिद गरेपछि प्रभू समूहका अध्यक्ष देवी प्रकाश भट्टचन प्रभू एयरलाइन्सको अध्यक्ष भएका छन् ।
कम्पनीसँग हाल अमेरिकी जहाज निर्माता कम्पनी रविन्सनको आर ४४ हेलिकप्टर छ । यो हेलिकप्टर ८ हजार मिटरभन्दा बढी उचाइमा उड्न सक्दैन । उक्त हेलिकप्टरको मूल्य ५ करोड रुपैयाँ हो ।
आगामी माघभित्रमा नयाँ जहाज थप्ने कम्पनीको योजना रहेको अध्यक्ष भट्टचनले बताए । उनका अनुसार कम्पनीले रविन्सन आर ६६ मोडलको हेलिकप्टर किन्दैछ, जुन १४ हजार फिटसम्म उड्न सक्छ ।
कम्पनीले १० लाख अमेरिकी डलर अर्थात १० करोड नेपाली रुपैयाँमा नयाँ हेलिकप्टर किन्न लागेको हो ।
कागजीरुपमा भने प्रभू समुहले गत साउन १ गतेदेखि कम्पनीको स्वामित्व लिएको हो । हालैमात्र नाम परिवर्तन गरी प्रभू एयरलाइन्स बनाइएको हो ।
नयाँ हेलिकप्टर आएपछि पोखराका साथै पश्चिम क्षेत्रमा सेवा विस्तार गर्ने योजना रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत बिनोद थकालीले जानकारी दिए ।
प्रभू समूहले यसअघि पनि डुब्न लागेको तत्कालीन किष्ट बैंकलाई प्रभू विकास बैंकमा गाभेको थियो । त्यसैगरी, डुबिसकेको नेपाल विकास बैंक किनिसकेको छ भने वित्तीय अवस्था बिग्रिँदै गएको ग्राण्ड बैंकलाई किन्न खोजेपनि प्रक्रियागत जटिलताका कारण मर्जरमार्फत स्वामित्व हात पार्दैछ ।
त्यसैगरी, कम्पनीले एलाइन्स इन्स्योरेन्सको स्वामित्व खरिद गरी प्रभू इन्स्योरेन्सका नाममा सञ्चालन गरिसकेको छ । प्रभू समूह सुरुमा प्रभू रेमिटान्स कम्पनीबाट व्यवसायमा प्रवेश गरेको हो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment