Thursday, December 10, 2015
केन्द्रबाट निर्देशन नआएको भन्दै जमुनाहा नाका खुकुलो इन्धनसहित १५० गाडी नेपाल भित्रिए
२४ मंसिर, नेपालगन्ज । धर्नामा बस्ने कि नबस्ने भनेर केन्द्रबाट स्पष्ट निर्देशन नआएको भन्दै आन्दोलनकारीले भारतसँग जोडिएको बाँकेको जमुनाहा नाका खुकुलो पारेका छन् । सीमा क्षेत्रमा मधेसी मोर्चाका कार्यकर्ता भए पनि उनीहरुले अघिल्ला दिनमा जस्तो अवरोध पुर्याएका छैनन् ।
जमुनाहा नाका खुकुलो भएपछि बिहीबार मध्यान्हसम्म १५० वटा मालबाहक गाडिहरु भारतबाट नेपाल भित्रिएका छन् ।
‘केन्द्रको स्पष्ट निर्देशन नआएका कारण सीमामा धर्ना दिन गएका कार्यकर्ताहरु अन्यौलमा रहेकाले नाका खुकुलो पारिएको हो,’ संघर्ष समिति बाँकेका प्रवक्ता समेत रहेका तमालोपाका केन्द्रीय सदस्य पशुपति दयाल मिश्राले भने, ‘हामीले कार्यकर्ता नै नभए नाका छोडेका होइनौं ।’
उनले सीमा नाकामा आफ्ना कार्यकर्ताहरु अहिले पनि रहेको दावी गरे ।
नेपालगन्जको जमुनाह नाकाबाट बिहीबार बिहानैदेखि ठूलो संख्यामा पेट्रोलियम पदार्थका साथै अन्य मालबाहक गाडिहरु भित्रिएका छन् । ईलाका प्रहरी कार्यालय जमुनाहका ईन्चार्ज प्रहरी नायव निरिक्षक विष्णु गिरीले दिएको जानकारी अनुसार बिहीबार बिहान ६ बजेदेखि २ बजेसम्म ग्यासका बुलेट ७ वटा, डिजल ट्यांकर १९ वटा, पेट्रोल ट्यांकर ५ वटा ,हवाई इन्धन बोकेका ३ वटा र अन्य मालबाहक गाडिहरु १५० वटा भित्रिएका छन् ।
अवरोध नभएपछि बिहीबार बिहानैदेखि जमुनाह नाका साविकको जस्तै सुचारु रहेको गिरीले जानकारी दिए ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment