Friday, December 4, 2015

राजेन्द्र महतो आजै भारत प्रस्थान, उपेन्द्र र महन्थ भोलि जाने

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मधेसी मोर्चाका नेताहरुलाई भेट्न बोलाएपछि सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो आजै भारत प्रस्थान गरेका छन् ।
सर्लाहीबाट उनी स्थलमार्ग हुँदै आज भारतको सितामढी पुग्ने छन् । उनले त्यहाँ मधेस आन्दोनलका क्रममा घाइते भएर उपचाररत केहि घाइतेहरुलाई भेट्ने कार्यक्रम रहेको स्रोतले बताएको छ । यसअघि हिजै मधेसी मोर्चाका नेता महेन्द्र राय यादव घाइतेहरुको उपचारको लागि सितामढी पुगिसकेका छन् । त्यहाँ घाइतेहरुको उपचारको आवश्यक चाँजोपाँजो मिलाएर महतोसँगै यादव पनि पटना हुँदै दिल्ली पुग्नेछन् । यता संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र तमलोपाका नेता महन्थ ठाकुर भने भोलि दिल्ली जाँदैछन् । उनीहरु भोलि बिहान एयर इन्डियाको बिमानबाट दिल्ली पुग्ने स्रोतले बताएको छ । स्रोतका अनुसार मोर्चाका शीर्ष नेताहरु एकैसाथ भोलि दिल्ली जाने कार्यक्रम रहेको भएपनि महतो सर्लाहीबाट स्थलमार्ग हुँदै सितामढी पुगेका हुन् । यसअघि तमलोपाको नेता हृदयश त्रिपाठी र संघीय समाजवादी फोरमका नेता अभिशेक प्रताप शाह भेटघाटको आवश्यक प्रवन्ध मिलाउन दिल्ली पुगिसकेका छन् । शाहले दिल्ली पुगेर भारतिय विदेशमन्त्री सुष्मा स्वराज र गृहमन्त्री राजनाथ सिंहसंग भेटवार्ता समेत गरिसकेका छन् । भारतकै सहयोगमा तराई मधेसमा आन्दोलन भएको मधेसी मोर्चालाई आरोप लागिरहेका बेला उनीहरु मोदीलाई नै भेट्न दिल्ली जान लागेका हुन् ।

No comments:

Post a Comment