Thursday, December 10, 2015
बिराटनगर र काकडभिट्टा नाकाको अबरोध हट्यो
साठी ट्याङ्कर इन्धन र चौध बुलेट ग्यास एकैदिन भित्रिए
विराटनगर/झापा : पूर्वी नाकाबाट विहीबार साठीवटा इन्धनका ट्याङ्कर र चौधवटा ग्यास बुलेट भित्रिएको छ । विराटनगरको जोगबनी नाका र झापाको काकडभिट्टा नाकाको अवरोध घटेसँगै इन्धन, ग्यास र अन्य वस्तु आउने क्रम बढेको हो ।
विराटनगर भन्सार कार्यालयका अनुसार विहीबार १४ बुलेट ग्यास, ९ ट्याङकर पेट्रोल र ३० ट्याङकर डिजेल आएको छ । यसैगरी एकसय ७० औद्योगिक कच्चा पदार्थ, उपभोग्य वस्तु, खाद्यान्न लगायत वस्तु बोकेका ट्रक तथा कन्टेनर आएका छन् ।
भन्सार प्रमुख कृष्ण बस्नेतले भने,‘अवरोध अघिकै अवस्थामा हुने नियमित आयात जस्तै छ । अवरोध घटेसँगै इन्धन पनि पहिलेकै परिमाणमा आउन थालेको छ । ’
यो नाका भएर नाकाबन्दी पूर्व औसत १२ बुलेट ग्यास, पैंतीसदेखि चालिस ट्याङकर इन्धन र अढाई सयसम्म ट्रक आउने गरेका थिए । मंसिर महिनाको दोस्रोदेखि तेस्रो सातासम्म आयात निकै सहज भएको भन्सार प्रमुख बस्नेतले जानकारी दिएका छन् ।
अघिल्लो महिना कार्यालयले तय गरेको लक्ष्यअनुसार नै भन्सार राजश्व उठेको कार्यालयले जनाएको छ । कात्तिकमा १ अर्ब ४६ करोड राजश्व उठेको छ । भन्सार कार्यालयको यार्डसम्म आउने मालवाहक गाडीलाई प्रहरीले सुरक्षा दिएर सम्बन्धित ठाउँसम्म पुर्याउने गरेको छ ।
अहिले भने मधेसी मोर्चाको अवरोध नभएकोले दिउँसो पनि मालवाहक गाडी पठाउन थालिएको प्रहरीले जनाएको छ ।
नाका सहज भएसँगै विहीबार काँकरभिट्टामा विहीबार २१ वटा इन्धन बोकेका ट्यांकर नेपाल भित्रिएका छन् । उक्त परिमाणको इन्धनमा डिजेलका १३, पेट्रोलका ४, मट्टीतेलका २ र हवाई इन्धनका २ वटा ट्यांकर नेपाल भित्रिएको मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत भीमप्रसाद अधिकारीले जानकारी दिएका छन् ।
बुधबार १७ वटा इन्धनका ट्यांकर नेपाल आएका थिए । यो नाकामा पनि भारीय पक्षबाट हुँदै आएको अवरोध घटेको छ ।
भारतको न्यू जलपाईगुडी डिपोबाट इन्धन भरेर ती ट्यांकर नेपाल आएका हुन् । पूर्वबाट जति खाली ट्यांकर इन्धन भर्न त्यहाँ जान्छन् सबैलाई भारतले इन्धन भरिदिने गरेको मेची भन्सार कार्यालय काँकरभिट्टाले जनाएको छ ।
विहीबार उक्त भन्सार कार्यालयमा ७५ वटा मालबाहक सवारी साधन नेपाल आएको मेची भन्सार कार्यालयले जानकारी दिएको छ । जसमा भारतीय सामान बोकेर ६० वटा र तेस्रो मुलुकका सामान बोकेका १५ वटा कन्टेनर नेपाल आएको उक्त कार्यालयले जानकारी दिएको छ ।
भारतको पानीट्याङ्की क्षेत्रमा भारतीय सीमा सशस्त्र बल (एसएसबी) ले मालवाहक गाडीलाई आउन दिन अवरोध गर्नुका साथै भारतीय भन्सारले पनि जाँचपासमा ढिलाई गर्दै आएकोमा अहिले त्यो क्रम हटेको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment