२६ वैशाख, काठमाडौ । भूकम्पका कारण बन्द रहेका काठमाडौंका सरकारी
विद्यालयहरु जेठ १ गतेदेखि खुल्ने भएका छन् । तर, निजी विद्यालयमा भर्ना
भएका विद्यार्थीहरुको पठनपाठन अझै अन्योलमा परेको छ ।
भूकम्पका कारण क्षति पुगेका विद्यालय र
प्रभावित विद्यार्थीहरुको सम्पूर्ण तथ्यांक आउन बाँकी रहे पनि सामुदायिक
विद्यालयहरु जेठ १ गतेदेखि सञ्चालन गरिने काठमाडौंका सहायक जिल्ला शिक्षा
अधिकारी गेहेन्द्र दाहालले अनलाइनखबरलाई बताए ।
भूकम्पले राजधानीका अधिकांश सरकारी
विद्यालयका भवनहरु भत्किएका छन् । विद्यालयका भवन भत्किएकाले कतिपय
विद्यालयमा पठन-पाठन गर्न नसकिने अवस्था छ ।
विद्यालयहरुको स्थिति सामान्य हुन नसके पनि जेठ १ देखि विद्यालय खुला गरिएपछि विस्तारै सामान्य हुने दाहालको विश्वास छ ।
भूकम्पले भत्किएका र जोखिमयुक्त अधिकांश
विद्यालयको नयाँ भवनसमेत रहेकाले समस्या नपर्ने सहायक जिशिअ दाहालले
बताउँछन् । क्षतीग्रस्त विद्यालयका विद्यार्थीलाई अन्य विद्यालयमा मर्ज
गरेर पठन-पाठनको तयारी गरिएको दाहालले जानकारी दिए ।
विद्यार्थीलाई मनोपरार्श दिने
भूकम्पले बालबालिकाहरुमा त्रासदी कायमै रहेकाले विद्यालय सञ्चालन भएका केही दिन विद्यार्थीहरुलाई मनोपरामर्श दिइने भएको छ ।
विद्यार्थीहरुलाई मनोपरामर्श दिनका लागि राजधानीमा उपलब्ध विद्यालयका प्रधानाध्यापकबीच शुक्रवार मनोपरामर्शसम्बन्धी छलफल भएको थियो ।
विद्यार्थीमा कायम रहेको त्रासदीलाई कम
गर्न सुरुका दिनमा मनोपरामर्श कक्षाहरु सञ्चालन गरिने त्रिपुरेश्वरस्थित
विश्व निकेतन स्कुलका प्रधानाध्यापक निर्मल गिरीले अनलाइनखबरलाई बताए ।
‘जेठको पहिलो साता पठन पाठन नभए पनि
विद्यार्थीहरु विद्यालयमा आउन थाल्ने छन् र स्थितिलाई सामान्य बनाउन प्रयास
गरिने छ,’ मध्य बानेश्वरस्थित रत्नराज्य स्कुलकी प्रधानाध्यापक डा. गीता
खरेल सिवाकोटीले अनलाइनखबरसँग भनिन् ‘अब विद्यालयहरु खोल्नैपर्छ, कति दिन
यसैगरी अन्योलमा बसिरहने ?’
क्षतिको विवरण अझै अपूर्ण
राजधानीमा भूकम्पमा परी मृत्यु भएका तथा
घाइते विद्यार्थीहरुको विवरण भने अझै आउन सकेको छैन । भूकम्पमा परी
बालबालिकाहरुको पनि मृत्यु भएको भए पनि यकिन विवरण भने आइनसकेको दाहालले
बताए ।
विद्यालयहरु सञ्चालन भइसकेपछि मात्रै मृतक
विद्यार्थीको विवरण आउने शिक्षा कार्यालयले जनाएको छ । काठमाडौंं जिल्लामा
केही शिक्षकहरु घाइते भए पनि मृत्यु नभएको शिक्षा कार्यालयले जनाएको छ ।
आधा दर्जन विद्यालय पूर्णरुपमा क्षतिग्रस्त
भूकम्पले राजधानीमा सामुदायिक
विद्यालयतर्फका आधा दर्जन विद्यालयहरु पूर्णरुपमा क्षतिग्रस्त भएकाले
पुरानै भवनमा सञ्चालन गर्न नसकिने अवस्थामा रहेको जिल्ला शिक्षा कार्यालयले
जनाएको छ ।
काठमाडौका सामुदायिकतर्फका २ सय ९९ विद्यालयहरुमध्ये २१ वटा विद्यालयमा तत्काल चलाउन नसकिने अवस्थामा रहेको उनले अनलाइनखबरलाई बताए ।
विद्यालयको क्षतिको पूरा विवरण आइनसकेकाले
आइतवारदेखि जिल्लाका सवै विद्यालयको अवस्थाबारे अवलोकन गर्न जाने निर्णय
गरिएको जिल्ला शिक्षा कार्यालय काठमाडौले जनाएको छ ।
अहिलेसम्मको तथ्यांक अनुसार दरबार हाई
स्कुल, हिमालय मावि न्यूरोड, बालसेवा मावि झोसे, जुद्धोदय पब्लिक स्कुल
क्षेत्रपाटी, नवआदर्श मावि बसन्तपुर तथा साँखुको एक प्राथमिक विद्यालय
पूर्णरुपमा क्षतिग्रस्त भएको पाइएको छ । अन्य विद्यालयमा पठनपाठन गराउन
सकिने अवस्था छ ।
रत्नराज्य स्कुलको माथ्लो तला चर्किए पनि
मुनिका कोठाहरुमा पठन पाठन हुन सक्ने अवस्था रहेको प्रधानाध्यापक खरेलले
बताइन् । उनले भनिन्- ‘माथिका कोठामा प्राविधिकलाई देखाएर परीक्षण गर्ने
तयारीमा छौं ।’
पुराना विद्यालय भत्किए पनि नयाँ जोगिए
काठमाडौंं जिल्लामा पछिल्लो समयमा निर्माण
गरिएका ‘रेट्रोफिटिङ’ विद्यालयहरुमा भने भूकम्पले कुनै क्षति नगरेको
जिल्ला शिक्षा कार्यालयले जनाएको छ । जिल्लाका ८० वटा त्यस्ता विद्यालयमा
कुनै पनि क्षति भएको छैन ।
No comments:
Post a Comment